
धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सकिएको छ। धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिए।
प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार धरहराको पुनर्निर्माणको क्रममा हालसम्म ७५ करोड खर्च भएको छ। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको काम गरिरहेको छ।

निर्माणको लागत ३ अर्ब ४८ करोड अनुमान गरिएको छ।
दैनिक १५० कामदार नियमितरूपमा निर्माणमा खटिएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । बयालीस रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।
