नुवाकोटको विदुर नगरपालिका–७ का एक बालकको नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शंकर तामाङको मृत्यु भएको हो ।
शंकर उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए।
काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।
नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए।
तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए। तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ ।