
काठमाडौं, २९ चैत — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलवार व्यवस्थापिका संसदमा अचम्मको रवैया देखायो ।
संसद्को बैठक चल्न नदिने घोषणा गरेको एक मिनेटमै फेरि संसद सुचारु गर्न ऊ राजी भयो । तराईका जिल्लामा आफ्नो पार्टीका नेता कार्यकर्ताका श्रीमती र छोराछोरीमाथि दुर्व्यवहारका घटना भएको सम्बन्धमा सरकारको जवाफ नआएसम्म सदन अवरुद्ध गर्ने उसले चेतावनी दियो ।
केन्द्रीय सदस्य एवं सांसद रवीन्द्र अधिकारीले बैठकको सुरुमै सभामुखसंग समय लिएर तराइका जिल्लामा पार्टीका कार्यकर्तामाथि भएको आक्रमणबारे सरकारको धारणा नआएसम्म सदनको कार्वाही अगाडी बढ्न नदिने बताए । अधिकारी बोले लगत्तै एमालेका सांसदहरु उठेर बिरोध जनाए ।
तर सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी दलले सदनमा उठाएको बिषयमा यथासीघ्र सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्दै एमाले सांसदहरुलाई बस्न आग्रह गरिन । सभामुखको आग्रह अनुसार एमालेका पछिल्लो पक्तिका सांसदहरु बसे ।
पार्टीको कार्यबहाक अध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल लगायतका केही नेताहरु अलमलमा परे । एक छिनमै उनीहरु पनि बसे । सदनमा प्रतिपक्षी दलको भूमिकाप्रति अन्य दल समेत आश्चर्यमा परे ।
त्यसअघि सांसद अधिकारीले स्थानीय निकायको चुनाव आउन ३४ दिन मात्र बाँकी रहेपनि चुनावका लागि सरकारले भरपर्दो शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।
तराइका जिल्लामा एमालेका कार्यकर्ता माथि मधेशी मोचार्एका कार्यकर्ताले छानी छानी आक्रमण गरेको भन्दै उनले आपत्ति जनाए । स्थाथी समिति सदस्य सत्यनारायण मण्डलको घरमा २७ गते मोर्चाका कार्यकर्ताले मण्डलका श्रीमति र छोरीमाथि दुव्यहार गरेको भन्दै घटनामा संलग्नमाथि कार्वाहीको माग गरे ।
सप्तरीमै केन्द्रीय सदस्य सुमन प्याकुरेलेको घरमा श्रीमति र बुहारीमाथि दुव्यहार भएको भन्दै सांसद अधिकारीले यस्ता घटनामा संलग्न दोषीमाथी कार्वाही गर्ने प्रतिबद्धता नजनाएसम्म एमालेले सदनको कार्वाही अगाडी बढन नदिने चेतावनी दिए ।
उनले गृहमन्त्री बिमलेन्द्र निधिको कार्यशैलीको समेत आलोचना गरे । ‘आइजीपी नियुक्तीमा गृहमन्त्री क्याविनेटमा जानु भएको छैन् । २४ घण्टा काम गर्ने गृहमन्त्री क्याविनेट जानुहुन्न । प्रधानमन्त्रीले केही गर्न सक्नु हुन्न’ अधिकारीले भने, ‘कही नभएको जात्रा हाडीगाउँमा भनेजस्तै बालुवाटार र सिंहदरवारमा देखिन थालेको छ ।’
अधिकारी बोले लगत्तै उठेर बिरोध जनाएका एमाले सांसदहरु सभामुख घर्तीको आग्रह पछि ३० सेकेण्ड मै बसे । एमाले सांसद बसेपनि मधेशी मोर्चाका सांसदहरुले भने मंगलवार पनि संसदको बैठक बहिस्कार गरे ।
फाइल तस्वीर