
सुदूरपश्चिम स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।
पुस १५ गते धनगढीमा आयोजना हुन गइरहेको प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ को लागि ४ विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले विहीवार पत्रकार सम्मेलन गरी विभिन्न ६ वटा विधामा दिइने अवार्डमध्ये ४ विधाका लागि मनोनयन सार्वजनिक गरेको छ ।
मनोनयन अन्तर्गत शारदा राईस मिल वर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खडक बोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन् ।
निसर्ग हस्पिटल वर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् भने दिनेश सोप वर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका मञ्चका अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।
उनका अनुसार केटीएम वाइक वर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा परेकी छिन् ।
माया मेट्रो हस्पिटल स्पेसल अवार्ड र ठाकुर ग्रूप लाइफ टाइम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन पुस १५ गते नै गरिने भएको छ ।
कार्यक्रम अन्तर्गत ४ वटा विधाका विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने भएको छ ।