
पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् ।
नेपालगञ्जमा शुक्रवारदेखि शुरू भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको मात्र हो भने ।
नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरू भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन् । 'संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौं, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो,' नेता राईको भनाइ थियो ।
समन्वय समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भने, 'तपाईं नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन ।'