२५ असार २०८३, बिहीबार

नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड

पुस १३, २०७६
नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड

पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको DTIPK 9995J नम्बरको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण पनि नयाँ पत्रिकाले प्राप्त गरेको छ । उनीमाथि दोहोरो नागरिकता लिएको सम्बन्धमा छानबिन भइरहेको छ । 

कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो क्याटगोरीको कार्ड भारतीय नागरिकको विशेषाधिकार हो । गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् । उनीहरूका नाममा ४९एए अनुसार प्यान कार्ड जारी गरिन्छ । त्यति मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ पनि स्पष्ट उल्लेख छ । 

आफूले भारतीय नागरिकको कागजपत्र बनाएको कँडेललाई थाहा छ, त्यसैले उनी संयमित छन्, तर कांग्रेसका केही केन्द्रीय नेताले कँडेलप्रति अति विश्वास देखाउँदै यसअघि नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति अविश्वास गरेका छन् । त्यसैले नयाँ पत्रिकाले सीमापारको स्थलगत अनुसन्धान गरेर भारतीय आयकर विभागको दस्ताबेज नै प्राप्त गरेको छ । 

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले पत्र काटेपछि जिल्ला प्रशासन कार्यालय नलवपरासीले सांसद कँडेलसँग दोहोरो नागरिकता रहेको सम्बन्धमा छानबिन गरिरहेको छ । आवश्यक पर्दा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेर भए पनि विवरण संकलन गर्ने तयारी गृह मन्त्रालयको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि कँडेलसँग भारतीय नागरिकता रहे–नरहेको प्रारम्भिक छानबिन गरेको थियो । यसक्रममा कँडेलले भारतीय नागरिक बनेर कलेज व्यवस्थापन समितिको अध्यक्षका रूपमा खाएको शपथपत्रको प्रतिलिपि प्रहरीले संकलन गरेको थियो । भारत उत्तरप्रदेश ठुठीबारीको राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय पूर्वप्रधान राजेश सिंहलाई पराजित गरेर डिसेम्बर २०१८ मा कँडेल निर्वाचित भएका थिए । उनी सो कलेजको अध्यक्षका रूपमा अहिले पनि बहाल छन् ।

कलेज व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि शपथ लिँदै कँडेलले आफू भारत उत्तर प्रदेशको ३३ कसैया रोड बेतिहाता जनपथ गोरखपुर निवासी भएको प्रमाण प्रस्तुत गरेका थिए । आफूले दिएको विवरण झुठो साबित भए भारतीय संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि गरेका थिए । 

दोहोरो नागरिकता छानबिन समितिले थप प्रमाण संकलनपछि सांसद कँडेलमाथि बयान लिने तयारी गरेको छ । ‘अधिकांश कागजात संकलन भइसकेका छन्, केही विवरण प्राप्त हुन बाँकी छ । आवश्यक पर्दा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेर भए पनि केही कागजात मगाउँछौँ । त्यसपछि सांसद कँडेललाई बयानका लागि बोलाउँछौँ,’ छानबिन समिति स्रोतले भन्यो । 

व्यक्तिगत विवरण झुठो दिएकोमा सांसद कँडेलमाथि भारतमा पनि कारवाही हुने भएको छ । भारतमा प्यान कार्ड लिदा उनले आफुसँग नेपाली नागरिकता पनि रहेको र सांसद समेत भएको विवरण लुकाएका थिए । ‘गलत विवरण उपलब्ध गराएर प्यान कार्ड लिने जोसुकैलाई पनि कानुन अनुसार कारवाही हुन्छ,’ भारतको गोरखपुरस्थित आयकर विभागका प्रमुख नित्यानन्द ठाकुरले नयाँ पत्रिकासँग भने ।

सीमावर्ती क्षेत्रमा मुन्नाबाबुको रुपमा चिनिने सांसद कँडेलविरुद्ध भारतमा आरडिएक्स बिस्फोटक, चरेस, गाँजालगायत अवैध सामान ओसार–पसारमा संलग्न रहेको उजुरी पनि परेको छ । ३० सेप्टेम्बर २०१९ मा भारतीय गृह मन्त्रालय सीमा प्रबन्धन विभागमा उनीविरुद्ध त्यस्तो उजुरी परेको हो । यो विषयमा भारतमा छानविन भइरहेको छ ।

उत्तर प्रदेशको महराजगन्जका जिल्ला अधिकारीमार्फत भारतीय गृह मन्त्रालयमा पुगेको पत्रमा कँडेल अवैध सामान ओसारपसारमा संलग्न रहेको उल्लेख गर्दै छानबिन गर्न माग गरिएको छ । उजुरीमा नेपालबाट चरेस, कस्मेटिक सामान, विदेशी हातहतियार, गाँजा एवं आरडिएक्स आदिको अवैध ओसारपसार गरी गोरखपुर हुँदै दिल्ली, मुम्बईलगायतका ठाउँहरूमा बिक्री गर्ने गरेको आरोप लगाइएको छ । यस्तो कार्यमा कँडेल र उत्तरप्रदेशस्थित आजमगढका तस्कर निषाद आलमको मिलेमतो रहेको आरोप उजुरीमा छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्