०५ साउन २०८३, मंगलबार

थुनिएका १२२ चिनियाँलाई चीन पठाउने अन्तिम तयारीमा प्रहरी, बोइङ जहाज पर्खिंदै

पुस १४, २०७६
थुनिएका १२२ चिनियाँलाई चीन पठाउने अन्तिम तयारीमा प्रहरी, बोइङ जहाज पर्खिंदै

काठमाडौं – साइबर अपराध गरेको भन्दै पक्राउ परेर थुनामा रहेका १२२ जना चिनियाँ नागरिकलाई चीन नै पठाउने अन्तिम तयारी नेपाल प्रहरीले गरिरहेको छ ।

बोइङ जहाज आएलगत्तै सबै आरोपीलाई चीन पठाइने प्रहरी उच्च स्रोतले जनाएको छ । आरोपीलाई प्रहरीले चीन ‘डिपोट’ गर्न तयारी अवस्था राखेको जनाइएको छ ।

‘चीनको बोइङ जहाज कुरेर बसिरहेका छन् । भोलि–पर्सी कहिले आउँछ त्यसपछि उनीहरूलाई चीन डिपोट गर्ने तयारी छ,’ स्रोतले भन्यो ।

अनुसन्धानमा अन्य कुनै अपराध गरेको नदेखिएकाले उनीहरूलाई अवैधानिक बसोबास गरेको आरोपमा कारवाही हुने भएको स्रोतले जनाएको छ ।

प्रहरीले अध्यागमन विभागमार्फत अवैधानिक बसोबासको कारवाही गर्नेछ । जसअनुसार आरोपीलाई आफ्नो देश चीन फिर्ता पठाइने छ ।

गत पुस ७ गते साइबर अपराधमा संलग्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले १२२ जना चिनियाँलाई पक्राउ गरेका थियो ।

प्रहरीले आरोपीको साथबाट ७४७ मोबाइल र ३३१ ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्ड बरामद गरेको थियो । शंकास्पद गतिविधि देखिएकाले प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन थुनामा राख्न म्याद लिएर अनुसन्धान थालेको थियो ।

कमेन्ट गर्नुहोस्