
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाएकी छिन्। फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाएकी हुन्।
नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याउने अन्तरराष्ट्रिय व्यक्तित्वको चर्चा गर्दा अग्रपङ्क्तिमा आउने नाम हो टोनी हेगन । सन् १९१७ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा जन्मिभएका हेगनले इञ्जिनीयरिङ तथा जियोलोजीमा स्वीस फेडेरल इन्स्टिच्युटबाट डिप्लोमा लिएका थिए। ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा अनुसन्धान सहायकको रुपमा जिम्मेवारी सम्हालेका थिए।
हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली र व्यवस्थापन कार्यालयका अध्यक्ष शङ्कर श्रेष्ठले टोनी हेगनले नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गरे।
सन् १९५० मा प्रथमपटक स्वीस सहायता कार्यक्रमको सिलसिलामा नेपाल आउनुभएका टोनी हेगन काठमाडौँ बाहिर खोज तथा अनुसन्धान गर्न अनुमति पाउने सम्भवतः पहिलो विदेशी नागरिक थिए। सन् १९५९ मा युएनअन्तर्गत सर्भे विभाग तथा सन् १९६१ मा इन्टरनेशनल रेडक्रसको चिफ डेलिगेटको जिम्मेवारी पनि पूरा गरेका हेगन जीवनका पछिल्ला दशकमा पनि युएनका विभिन्न कार्यक्रममा सक्रिय थिए।
नेपालको कुनाकाप्चा गर्दै करिब १४ हजार किमीभन्दा धेरै यात्रा गरेका हेगनले नेपालको यात्राअन्तर्गत उल्लेख्य अध्ययन तथा अनुसन्धान गरेका थिए।