१२ असार २०८३, शुक्रबार

कर्मचारीबाटै जोखिममा बैंक

पुस १५, २०७६
कर्मचारीबाटै जोखिममा बैंक

नक्कली निक्षेप देखाएर अनियमितताको आरोप लागेका नेपाल बैंकका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । बैंकले निलम्बन गरेपछि भारत भागेका उनलाई एक महिना लामो प्रयासपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले आइतबार पक्राउ गरेको हो । 

उनले करिब ५० लाख अनियतिता गरेको नेपाल बैंकबाटै जाहेरी परेको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए । डिल्लीबजार शाखाको प्रबन्धकका रूपमा रहँदा उनले अनियमितता गरेका हुन् ।

सिस्टममा निक्षेप आएको देखाउने र त्यसको ब्याज भुक्तानी गरेको देखाएर कोइरालाले आफ्नो खातामा हाल्ने गरेका थिए । महिनौँसम्म उनले यसरी पैसा दुरुपयोग गरेका थिए ।

पछिल्लो समय ठूलो रकम निकाल्न थालेपछि बैंकले पत्ता लगाई आन्तरिक छानबिन गरेर उनलाई निलम्बन गरी प्रहरीमा पत्राचार गरेको थियो । उनी बैंकका नवौँ तहका कर्मचारी हुन् । लेखापरीक्षणका क्रममा हिसाब–किताब नमिलेपछि उनको बदमासी बाहिर आएको हो । 

१० वर्षमा २२ अर्बभन्दा धेरै अनियमितता
बैंकका कर्मचारीकै मिलेमतोमा पछिल्लो १० वर्षमा २२ अर्बभन्दा धेरै अनियमितता भएकोमा छानबिन भइसकेको छ । सिआइबीले मात्र २२ अर्ब ६ करोड आठ लाख ४६ हजार ८३४ रुपैयाँ बिगोबराबरको मुद्दा दायर गरेको छ । बैंकिङ कसुरमा प्रहरीले ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजार जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाएर कारबाही गरिसकेको छ ।

बैंकहरूले यसरी अनियमितता गर्ने मौका नै दिन नहुने सिस्टम बनाउनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । ‘बैंकिङ क्षेत्रमा कता–कता सिस्टमको कमजोरी देखिन्छ, अनियमतता गर्न अनुकूल परिस्थित सिर्जना भएको हुन्छ,’ सिआइबीका एसपी बेलबहादुर पाण्डे भन्छन्,’ ‘अर्काे कुरा नैतिकताको पनि हो, समाजमा सर्वत्र बदमासी भएको यी घटनाले देखाउँछ ।’

अनियमितताका सबै घटनामा कर्मचारी नै संलग्न
प्रहरीले ह्याकर तथा बाहिरी समूहभन्दा पनि बैंकहरू आफ्नै कर्मचारीबाट जोखिम रहेको जनाएको छ । विभिन्न बैंकमा प्रहरीले गरेको अनुसन्धानमा सबैजसो घटनामा कर्मचारीकै योजनामा बदमासी भएको छ । 

तीन महिनाअघि देवः विकास बैंकको दाङको नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीको नेतृत्वमा १८ करोड रुपैयाँ अनियमितता भएको थियो । त्यसअघि बैंक अफ काठमाण्डूमा भएको अनियमिततामा सिआइबीले तत्कालीन सिइओसमेतलाई पक्राउ गरेको थियो । कर्जा प्रवाहमा नक्कली कागजपत्र पेस गरी अनियमितता गरेको भन्दै तत्कालीन सिइओ अजय श्रेष्ठ पक्राउ परेका हुन् । 

तत्कालीन किस्ट बैंकका डेपुटी सिइओ बिएन घर्ती, क्रेडिट कमिटी अफिसर प्रगुन श्रेष्ठलगायत पनि पक्राउ परिसकेका छन् । त्यस्तै, कृषि विकास बैंक न्युरोड शाखाकी कर्मचारी दीपिका रेग्मी तथा स्वयम्भू शाखाका अधिकृत केदार गौतमले समेत बैंकको सिस्टमलाई नै झुक्याएर अनियमितता गरेका थिए । दुवैजना पक्राउ परिसकेका छन् । अर्काको चेक बैंकबाट निकालेर किर्ते हस्ताक्षर गरी पैसा निकाल्ने ६ जनामाथि काठमाडौं परिसरले हाल अनुसन्धान गरिरहेको छ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्