११ साउन २०८३, सोमबार

अस्पतालमा शल्यक्रिया गराइरहेकी क्यान्सरपीडितको आगोमा डढेर मृत्यु

अस्पतालमा शल्यक्रिया गराइरहेकी क्यान्सरपीडितको आगोमा डढेर मृत्यु

रोमानियाको एक अस्पतालमा शल्यक्रिया गराइरहेकी एक क्यान्सरपीडित महिलाको आगोमा डढेर मृत्यु भएको छ ।

ती ६६ वर्षीया महिलालाई चिकित्सकहरूले बुखारेस्टस्थित फ्लोरेआस्का अस्पतालमा अल्कोहल भएको डिसइन्फेक्टेन्ट (संक्रमण रोक्ने झोल) लगाए अनि विद्युतीय चक्कु (स्कालपेल) उपयोग गरेर शल्यक्रिया गरे । 

अल्कोहल र विद्युतीय यन्त्रको संयोग परेपछि ती महिला हुरहरी बलेको भनी आफूलाई चिकित्सकहरूले बताएको रोमानियाली राजनीतिकर्मी इमानुएल उन्गुरीयानुले जानकारी दिए । घटना पुस ६ गते भएको हो । 

उक्त खतरनाक घटनाको एक हप्तापछि महिलाको मृत्यु भएको थियो । उक्त घटनालाई लुकाउन खोजेको भन्दै अस्पतालको प्रमाणपत्र ६ महिनाका लागि निलम्बन गरेको रोमानियाली समाचारपत्र जी४मिडियाले लेख्यो । 

उपमन्त्री होरातिउ मोल्दोभानले अल्कोहल भएको डिसइन्फेक्टेन्ट विद्युतीय स्कालपेलसँग शल्यक्रियाका बेलामा उपयोग गर्नु प्रतिबन्धित रहेको कुरा शल्यचिकित्सकहरूले थाहा पाउनुपर्थ्यो भने । 

स्वास्थ्यमन्त्री भिक्टोर कोस्टाचेले एक वक्तव्य जारी गरेर यस घटनाको अनुसन्धान गर्न प्रतिबद्धता व्यक्त गरे । 

रोमानियाली प्रहरीले मृत्युको घटनाको परिस्थितिको अनुसन्धान गरिरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्