०७ साउन २०८३, बिहीबार

प्रदेश ३ को नाम र राजधानीबारे सचिवालयकै ३ सदस्यको विमति, नेकपाभित्र तीव्र असन्तुष्टि !

प्रदेश ३ को नाम र राजधानीबारे सचिवालयकै ३ सदस्यको विमति, नेकपाभित्र तीव्र असन्तुष्टि !

प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णय पार्टीभित्रै विवादमा परेको छ ।

संविधानको भावना, संघीयताको मर्म र प्रदेश सभाको क्षेत्राधिकारविपरीत प्रदेशको नाम सम्बन्धमा पार्टीले केन्द्रबाट हस्तक्षेप गरेको भन्दै नेकपाका प्रदेश सभा सांसदहरू आक्रोशित छन् । 

आइतवार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने र प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको सचिवाल सदस्य झलनाथ खनालले बताएका थिए ।

स्रोतका अनुसार सचिवालयका तीन सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले प्रदेशको नाम र राजधानी सम्बन्धमा पार्टीले केन्द्रबाट हस्तक्षेप गर्न नहुने धारणा राखेका थिए । 

‘प्रदेशको नाम राख्ने र राजधानी तोक्ने विषय प्रदेश सभाको अधिकार हो, यस विषयमा हामीले हस्तक्षेप नगरौं,’ तीन नेताले सचिवालय बैठकमा भनेका थिए ।

प्रदेश ३ को नाम र राजधानीबारे नेकपाको निर्देशनलाई लिएर अन्य प्रदेशमा समेत बहस सिर्जना भएको छ ।

नेकपा स्रोतका अनुसार बैठकमा गौतमले हेटौंडामा प्रदेशको राजधानी कायम गर्दा प्रदेशकै ठूलो भू–भागलाई असुविधा हुने तर्क गरेका थिए ।

२१ गतेदेखि शुरू हुने प्रदेश सभाको हिउँदे अधिवेशनको मुख्य कार्यसूची प्रदेशको नाम र राजधानीको निर्णय गर्नेगरी तयारी भएको प्रदेश सभा सचिवाल स्रोतले जानकारी दियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनबाट प्रदेश राजधानी टुंगो लाग्ने बताउँदै आएका छन् ।

नेकपाभित्रका असन्तुष्ट समूह भने केन्द्रले दिएको निर्णय आफूहरूलाई स्वीकार्य नभएको बताउँछन् ।

‘प्रदेशको नाम राख्ने र राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको हो, केन्द्रले हस्तक्षेप गर्नु प्रदेश सभाको क्षेत्राधिकारमाथिको हस्तक्षेप हो,’ नेकपाका सांसद लक्ष्मण लम्सालले लोकान्तरसँग भने, ‘अधिवेशनअगाडि बस्ने संसदीय दलको बैठकमा कुरा उठाउँछौं ।’

नेकपा सचिवालयको निर्णयले संघीयताप्रति प्रश्न उठाइरहेको समूह र तप्कालाई खेल्ने मौका मिलेको लम्सालको जिकिर छ ।

हेटौंडाबाट राजधानी सार्नुपर्ने पक्षमा सभाका बहुसंख्यक सदस्य रहेको उनको दाबी छ । 

प्रदेशको नाम बाग्मती राख्ने निर्णय नेकपाले गरेपछि मंगलवार काठमाडौंमा ‘पहिचान पक्षधर’ समुदायले प्रदर्शन समेत गरेका थिए । उनीहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्ने माग गरे ।

नेकपाकै अर्का सांसद् चन्द्रबहादुर लामाले हेटौंडालाई राजधानी कायम गर्ने निर्णय आफूहरूलाई मान्य नहुने चेतावनी दिए । 

‘मकवानपुर र चितवनबाहेकका जिल्लालाई प्रदेशको राजधानी हेटौंडा कुनै हालतमा उपयुक्त छैन,’ लामाले लोकान्तरसँग भने, ‘काभ्रेलाई राजधानी बनाउँदा सबैलाई उयपुक्त हुन्छ ।’

प्रदेश सभाको क्षेत्राधिकारविपरीत नेकपाले प्रदेशको नाम र राजधानी सिफारिश गरेको भन्दै नेपाली कांग्रेस लगायतका दलले पनि आलोचना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्