
तपाईं दुबईका सडकहरूमा हिँडिरहँदा कार वा मोटरसाइकलमा सवार महिला प्रहरी देख्नुहुन्छ । कट्टरपन्थी अरबी क्षेत्रमा यो दृश्य समान्य होइन तर दुबईमा यो सामान्य नै हो ।
त्यहाँ महिलाहरू प्रहरी सेवामा पुरुषहरूको बराबरी गरिरहेका छन् । फिमेल प्रोटेक्सा स्क्वाडले नै राजपरिवार भीआईपीहरूलाई सुरक्षा दिइरहेका हुन्छन् ।
सन् १९९४ मा फिमेल भीआईपी प्रोटेक्सन स्क्वाडको आधारशिला राखियो । अहिले स्क्वाडमा ४५ महिला छन् । उनीहरू मार्सल आर्ट्स तथा कम्ब्याट टेक्निकमा पोख्त छन् ।
दुबईका शासक शेख मोहम्मद राशिद अल मख्तूम र युवराज शेख हमदन बिन मोहम्मद बिन अल मख्तूमलाई पनि उनीहरू नै सुरक्षा दिन्छन् ।
यूनिटका असिस्टेन्ट म्यानेजर मेजर सैफ अहमदले महिला र पुरुष सुरक्षा टोलीमा कुनै फरक नरहेको बताएका छन् । दुवैको लक्ष्य भीआईपीको सुरक्षा नै रहेको अनि कहिलेकाहीँ त पुरुषभन्दा महिला झन् राम्रो हुने र उनीहरू बढी जिम्मेवार हुने अहमद बताउँछन् ।
यूनिटमा प्रारम्भिक वारेन्ट अफिसर फातिमा सईदले ११ वर्षअघि स्क्वाड जोइन गरेकी थिइन् । उनी एक उम्दा मोटरसाइक्लिस्ट हुन् । उनी भन्छिन्, ‘हामीहरू आउटडोर ड्युटीमा हुँदा मानिसहरू छक्क पर्छन् र हाम्रो फोटो खिचाउन चाहन्छन् ।’
फातिमाका अनुसार, महिलाहरूले भव्य स्पोर्ट्स बाइक चलाएको देख्दा सबैजना छक्क पर्छन् । त्यतिमात्र नभई महिलाहरूले भीआईपीलाई सुरक्षा दिएको देख्दा पनि मानिसहरू ट्वाँ पर्छन् ।
स्क्वाडमा महिलाहरूलाई उनीहरूको शार्पनेस, तीव्रता र तागतका आधारमा छनोट गरिन्छ ।
फातिमा सईद भन्छिन्, ‘धेरै वर्षसम्म मानिसहरूमा अरब महिलाहरू प्रहरीमा पुरुषसँग काम गर्न सक्दैनन् भन्ने सोच थियो तर अहिले सबै कुरा परिवर्तन भइसकेको छ । अब त महिलाहरू पनि बाइक चलाउँछन् र प्लेन पनि उडाउँछन्।
शेख मोहम्मदले महिलाहरूलाई पुरुषको बराबरीमा शीर्ष स्थानमा पु–याउन चाहेका छन् ।’
एजेन्सी