
केही महिना अघि भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेपछि उत्तर कोरियाका ३५ वर्षीय शासक किम जोङ उन त्यति धेरै मिडियामा आएका छैनन् ।
त्यसयता विश्वभरि किम-ट्रम्पबीचको वार्ता असफल भएको टिप्पणी चलिरहेको छ । उनीहरूबीच अर्को वार्ता कहिले हुने भन्ने तयसमेत भएको छैन ।
यतिबेला किम के गरिरहेका छन् त ?
कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमको पछिल्लो तस्वीर सार्वजनिक गरेको छ ।
मंगलवार उनले फोस्फेटिक खाद्यमलको कारखाना अवलोकन गरेको फोटो एजेन्सीले सार्वजनिक गरेको हो ।
उत्तर कोरियाको दक्षिण प्योङयाङ प्रदेशमा रहेको खाद्यमल कारखाना अवलोकन गरेपछि किमले आफ्ना अधिकारीहरूसँग हाँसेको फोटो सार्वजनिक गरिएको छ ।
किमले मल कारखाना अवलोकन गर्दा स्वतन्त्र पत्रकारहरूलाई जान निषेध गरिएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले मंगलवारै दक्षिण कोरिया भ्रमण गर्ने किमको वाचा याद दिलाएका छन् ।
राष्ट्रपति मुनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग बोल्दै यो वर्ष किमले दक्षिण कोरिया भ्रमण गर्ने र द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने वाचा गरेको स्मरण गराए ।