
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले ओली सरकारमा निर्धक्कसँग समाचार लेख्ने वातावरण गुमेको आरोप लगाएका छन् ।
अर्घाखाँची जनपत्रकार संगठनको आयोजनामा मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यले विभिन्न विधेयक ल्याएर जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाए ।
'जनपत्रकारहरुले जनताका सही र निष्पक्ष आवाज उठाउँदा राज्यले हामीबाट अशान्ति भएको टिप्पणी गर्नु राजनीतिक पुर्वाग्रह हो,' उनले भने, 'पत्रकारले समाचार लेख्दैमा यातना भोग्नुपर्ने, जेल र हिरासत खेप्नुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ ।'
जनपत्रकार संगठनका नेपालका केन्द्रीय महासचिव हिम बिष्टले संगठनले देसव्यापी रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा बहस उठाइरहेको दाबी गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारीले पत्रकारहरुले स्वतन्त्रतापूर्वक सूचना प्रवाह गर्न पाउने हकसमेत राज्यले कुण्ठित गर्न लागेको आरोप लगाइन् ।
'हाम्रो पार्टीले प्रतिपक्षको भूमिका पूर्ण रूपमा निभाउन नसकेको म स्वीकार गर्छु,' उनले भनिन्, 'तर हामी सदैव मानवअधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा छौं ।'
त्यसैगरी जनमोर्चा पार्टीका जिल्ला सल्लाहकार जिवनारायण खनालले अहिलेको मानवअधिकारको अवस्था निकै दयनीय रहेको बताए । 'राज्यबाट मुठ्ठीभरका मान्छेहरुले सुविधा लिने गरेका छन् तर जनताले दमन खप्नुपरेको छ,' उनले बताए ।
कार्यक्रममा नेपाल बार एसोसियसनका निवर्तमान अध्यक्ष अधिवक्ता केबी भुसाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य शोभाखर पन्थी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसी लगायत उपस्थित थिए ।