२९ जेठ २०८३, शुक्रबार

जिल्ला सभापति भेला : असन्तुष्ट समूह उत्साहित

पुस २४, २०७६
जिल्ला सभापति भेला : असन्तुष्ट समूह उत्साहित

सभापति शेरबहादुर देउवाको कदम सच्याउनका लागि दबाब दिन केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको जिल्ला सभापतिको भेलापछि कांग्रेसको असन्तुष्ट पक्ष उत्साही भएको छ । अब पार्टी सुधारको कार्यक्रमलाई पार्टीको तल्लो तहसम्मै लैलाने भएको छ ।

कांग्रेसका ४७ जिल्ला सभापतिले बहुमत र अल्पमतका आधारमा अगाडि बढ्दा पार्टीलाई नै घाटा हुने भन्दै सहमतिका आधारमा पुनः १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन माग गरेपछि असन्तुष्ट पक्ष उत्साही भएको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरूको पनि यही चाहना रहेको जनाउँदै भेलाबाट उत्साही भएको बताएका हुन् । 

सभापति देउवाले ११ पुसमा बहुमतको आधारमा १४औँ महाधिवेशनको कार्यतालिका ल्याएको, सदस्यता सम्बन्धमा विधानको महत्वपूर्ण धारा निलम्बन गरेको, विधानविपरीत विभाग गठन गरेको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट बनेको थियो । ‘१४औँ महाधिवेशनलाई धरापमा पार्नेगरी मंसिरबाट फागुनमा महाधिवेशन सक्छु भनेर कार्यतालिका ल्याउनु अव्यवहारिक थियो ।

विभाग ४७ वटा बनाउने, विधान निलम्बन गरेको कुरामा पनि सुधार गर्न र पार्टी विधिसम्मत चल्नुपर्छ भन्ने माग गर्दै आयौँ,’ भेलापछि पौडेलले भने, ‘सभपातिको कदमपछि ७७ मध्ये दुईतिहाइ सभापतिलाई बोलाएर परामर्श गर्‍यौँ । उहाँहरूको सुझाब पनि पार्टी विधि, पारदर्शी, न्याय र निष्पक्ष आधारमा चल्नुपर्छ भन्ने आएको छ । बहुमतकोे निर्णय सच्याउनुपर्छ भन्नेमा जिल्ला सभापतिले बल थप्नुभएको छ ।’

बहुमत सदस्यले आफ्नो मागलाई साथ दिएपछि नेता पौडेलले अब पार्टी सुधारको विषयलाई तल्लो तहसम्मै लिएर जाने पनि बताए । ‘सिंगो पार्टीलाई सुधार्नुपर्ने छ । अनि देशलाई पनि भ्रष्टाचारमुक्त बनाउनुपर्नेछ,’ पौडेलले भने, ‘बहुमतमा पनि विधिको दायराअनुसार चल्नुपर्छ । तर, सहमतिको भावना र परम्परामाथि प्रहार भएपछि असन्तुष्टि उब्जिएको हो । यो अभियानलाई लिएर आमसाथीहरूसँग संवादमा जान्छौँ ।’

सभापतिको कदमपछि चिढिएको पौडेल–सिटौला पक्ष पटक–पटक छलफलमा जुटेको थियो । उनीहरू सभापति देउवाको निर्णयलाई सच्याउँदै एकजुट भएर जाने बाटोमा छन् । यसका लागि पार्टी सुधारको कार्यक्रम तल्लो तहका कार्यकर्तासम्म लिएर जाने उनीहरूको तयारी छ । यसका लागि आफूनिकटका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापतिहरू, पूर्वसभापतिहरू, पूर्वसांसदसहित नेता कार्यकर्तासँग संवाद गर्ने तयारी रहेको छ । 

नेता कृष्णप्रसाद सिटौलाले गुटभन्दा माथि उठेर कार्यतालिका सच्याउन सभापतिसँग आग्रह गरे । ‘सहमतिबाट कार्यविधि र कार्यतालिका बनाउनुपर्नेमा बहुमतबाट निर्णय गराउनुभयो । महाधिवेशन राष्ट्रिय पर्व हो । प्रतिस्पर्धा हुन्छ । तर, यसलाई निष्पक्ष बनाउनुपर्छ । विधानको धारा निलम्बनले निष्पक्ष महाधिवेशन हुने बाटो देखिएन,’ सिटौलाले भने, ‘आफ्नो गुटका मात्र साथी राखेर, गुटको मात्र सभापति बन्ने होइन कांग्रेसको सभापति बन्नुपर्छ ।’  नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्