०३ असार २०८३, बुधबार

आजदेखि मौसम सफा हुँदै जाने पूर्वानुमान

आजदेखि मौसम सफा हुँदै जाने पूर्वानुमान

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रवारबाट बिस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शुक्रवार उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताइन् ।

‘आज (शुक्रवार) मध्याह्नसम्म देशैंभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ,’ मौसमविद् शाक्यले भने । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाइएको छ ।

राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । आइतवार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ० डिग्री र अधिकतम तापक्रम १३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । शुक्रवार सबैभन्दा कम डडेल्धुराकोे न्यूनतम तापक्रम –०.१ डिग्री सेल्सियसमा झरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्