०७ साउन २०८३, बिहीबार

प्रदेश नं ३ को नाम र राजधानीबारे निर्णय आज

प्रदेश नं ३ को नाम र राजधानीबारे निर्णय आज

प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा शनिवार प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । 

आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । उक्त प्रस्तावलाई समर्थन गर्नेहरूमा प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ छन्। 

यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन् । समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन्। 

सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताए। 

यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए। 

प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।
 

कमेन्ट गर्नुहोस्