
प्रहरीले मिटरब्याजी रामबाबु रायको घरमा छापा मारेको छ । बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले छापा मारेको हो। उनी यसअघि नै प्रहरी हिरासतमा छन्।
अनुसन्धानका क्रममा आवश्यक कागजात सङ्कलन गर्न अभियुक्त यादवको घरमा खानतलासी भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। अनुसन्धान जारी रहेकाले यादव विरुद्धको आरोपसँग सम्बन्धित कागजात फेलापर्छ की भनेर प्रहरीले घर खानतलासी गरेकाे हाे।
ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा पाँच गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्ट्रीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको भन्दै सर्लाहीबाट पीडितको एक समूह गत मङ्गलबार काठमाडौँ पुगेर राजनीतिक दलका नेतासहित गृहमन्त्री रामबहादुर थापा एवं नेपाल प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीसँग गुनासो गरेपछि प्रहरीले गत बुधबार हरिपुरबाट यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवलाई तत्काल सुरक्षाकर्मीमाथि दुव्र्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । यादवविरुद्ध गृहमन्त्रालयमा ठगीको उजूरी परिसकेको र जिल्ला प्रहरी कार्यालयमा समेत पीडितले उजूरी दिएका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।