एक अर्बपतिले प्रेमिका चाहिएको भनी आवेदन खुलाएका छन् । उनकी पहिलेकी प्रेमिका एक अभिनेत्री थिइन् तर उनीहरू छुट्टिए ।
त्यसपछि अर्बपतिले प्रेमिकाका लागि भ्याकेन्सी निकालेका हुन् । माघ ३ गतेसम्म त्यसका लागि निवेदन दिइसक्नुपर्नेछ ।
निवेदन दिने युवतीले आफूलाई प्रेम गर्नुपर्ने अर्बपतिको भनाइ छ । उनले प्रेमिकालाई चन्द्रमामा पनि लग्नेछन् । प्रेमिका बन्न इच्छुक युवतीले चन्द्रमामा जाने रुचि देखाउनुपर्नेछ ।
यी अर्बपति हुन् जापानी व्यापारी युसाका माएजावा । ४४ वर्षका युसाका २० वर्षभन्दा माथिकी सिंगल युवतीलाई प्रेमिका बनाउन खोज्दैछन् ।
माएजावाको वेबसाइटमा लेखिएको छ, ‘अन्तरिक्षमा जाने उनको लामो समयदेखिको सपना हो । उनी त्यस विशेष ठाउँमा विशेष व्यक्तिसँग जान चाहन्छन् ।’
वेबसाइटले यसलाई गम्भीर घटनाका रूपमा प्रवर्द्धन गर्दै यसलाई रियालिटी शो फुल मून लभर्समा डकुमेन्टेसन गर्ने जनाएको छ । उक्त शो जापानी स्ट्रीमिङ सर्भिस आबेमाटीभीबाट प्रसारण गरिनेछ ।
चम्किलो व्यक्तित्व, जीवनको पूर्ण रूपमा आनन्द लिने इच्छा र विश्वशान्ति चाहने २० वर्षभन्दा माथिका महिलाका लागि आवेदन खुलाइएको हो ।
माएजावा र उनकी प्रेमिका एलन मस्कको स्पेसएक्स कम्पनीको स्टारशिप रकेटमा चढेर चन्द्रमामा जानेछन् । उक्त रकेटले चन्द्रमा अनि पछि मंगलग्रहसम्म मानिसहरूलाई पुर्याउने लक्ष्य लिएको छ ।
एजेन्सी