
अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा ४ विद्यार्थीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका स्थायी बसोबास गरी स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनरत् आशिष अधिकारी, सुबोध अधिकारी, आशिष पौडेल र जेनिस रेग्मीलाई सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनही ५० हजार रूपैयाँसहित दोसल्ला ओढाएर ती उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे । शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा स्नातक तहको उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्दै सम्मान गरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाईले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अन्तर्गत साविकका गाउँ पञ्चायत र गाबिसबाट निर्वाचित उपप्रधानपञ्च र उपाध्यक्षहरूलाई पनि सम्मान गÞरिएको थियो । सम्मानित हुनेमा इन्द्रकुमारी गुरुङ, इन्द्रप्रसाद पौडेल, कुलबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, दलबहादुर गुरुङ, बुद्वीसागर पौडेल, नारायणबहादुर केसी, मनबहादुर केसी, चित्रबहादुर गुरुङ, गोलमान गुरुङ, प्रेमबहादुर गुरुङ, रनबहादुर गुरुङ, बिजय गुरुङ, तिलबहादुर गुरुङ, बिलबहादुर गुरुङ, र भदौरेबाट दलबहादुर गुरुङ र पुण्यप्रसाद सुवेदी छन् ।
गाउँसभाकै अवसरमा गत जेठमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित दोस्रोे अन्नपूर्ण म्याराथनमा चौथो स्थान प्राप्त गर्न सफल घान्द्रुकका सचिन गुरुङ र ५५ वर्षीया धावक मीनबहादुर विकलाई पनि सम्मान गरिएको छ । उनलाई जनही १० हजार रुपैयाँ नगदसहित टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गाउँसभामा अध्यक्ष कुँवरले चालू आर्थिक वर्षमा सम्पन्न शाखागत प्रगति विवरण जानकारी गराए ।