
५ दिनदेखि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको संवादहीनता आइतवार दिउँसो तोडिएको छ ।
सभामुखको उम्मेदवार चयनको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद अध्यक्षद्वयबीच संवादहीनताको स्थितिमा पुगेको थियो । गत आइतवारदेखि अध्यक्षद्वयबीच भेटघाट र कुराकानी भएको थिएन ।
‘उहाँ (प्रचण्ड) लगभग प्रत्येक दिनजसो बालुवाटार आउनुहुन्थ्यो,’ बालुवाटार स्रोतले भन्यो, ‘तर यसपालि आइतवारदेखि आउनुभएको थिएन । फोनमार्फत पनि उहाँहरूबीच कुराकानी भएको थिएन ।’
लामो समयदेखि भेटघाट नभएपछि दुवै अध्यक्षको बोलचाल बन्द भएको चर्चा राजनीति वृत्तमा चलेको थियो तर ५ दिनको संवादहीनतालाई बालुवाटार पुगेर प्रचण्डले तोडेका छन् । २ अध्यक्षको आइतवारको छलफल सभामुख चयनकै विषयमा केन्द्रित रहेको बताइएको छ ।
आइतवार प्रचण्ड र ओलीबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने विषयमा छलफल भएको थियो । छलफलबीच तुम्बाहाङ्फेलाई बोलाइयो । उनले राजीनामा नदिने पुरानो अड्डी कायमै राखिन् ।
आइतवार बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरियो । २ अध्यक्षबीचको शक्ति संघर्षका कारण पुस ४ गते डाकिएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन निरन्तर स्थगनको मार खेप्दै आइरहेको छ ।
भैंसेपाटी भेलाले बढायो विश्वासको संकट
गतसाता बुधवार सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेव गौतम निवासमा प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच भेला बस्यो । भेलालाई प्रधानमन्त्री ओलीले आफूमाथिको ‘चुनौती’ सम्झे ।
बालुवाटार स्रोत भन्छ, 'प्रधानमन्त्री त्यतिबेलैदेखि सन्तुष्ट हुनुहुन्न ।'
‘सहमतिमा हुनुपर्ने काम शक्ति प्रदर्शन गर्दै हिँडेपछि कसरी हुन्छ ?’ प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूसँग भन्ने गरेका छन्, ‘मेरो विरुद्धको भेलामा जो जो थिए, उनैले सभामुख चयन गरे भइगयो नि !’
भैंसेपाटी भेलाले बालुवाटारमा ‘बेचैनी’ बढेको थाहा पाएपछि प्रचण्डले भोलिपल्ट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बालुवाटार पठाएर गुटबन्दी नगरेको सन्देश दिन आग्रह गरे । सोहीअनुसार श्रेष्ठ बालुवाटार त गए तर प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गर्न सकेनन् ।
शुक्रवार प्रचण्ड आफैं बालुवाटार गए । अध्यक्षद्वयबीच करीब ३ घण्टा छलफल भयो । छलफलकै बीचमा बालुवाटारमा उपसभामुख तुम्बाहाङ्फेलाई बोलाइयो र राजीनामा मागियो । उनले अस्वीकार गरिन् । ‘पार्टीले निर्णय गर्यो भने त मान्नुहोला नि !’ प्रचण्डले तुम्बाहाङ्फेलाई सोधिहाले । तुम्बाहाम्फे कड्किइन्, ‘जेसुकै गर्नुस्, मैले राजीनामा गर्दिनँ ।’
प्रचण्ड–तुम्बाहाङ्फेबीच विवाद बढ्ने देखेर ओलीले रोके । ‘तपाईं अहिले जानुस्, बाँकी कुरा हेर्दै गरौंला,’ यति भनेर ओलीले तुम्बाहाङ्फेलाई फिर्ता पठाए । भोलिपल्ट ओलीको अनुपस्थितिमै बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गर्यो ।
नेताहरू भन्छन् –यसरी चल्दैन
नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संवादहीनताको अवस्थाबाट निकास निस्किन नसक्ने बताए । लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘अहिले निकासको आवश्यकता छ । उहाँहरूबीच संवादहीनताको स्थिति पैदा हुनु हुँदैन ।’
पौडेलले २ अध्यक्षबीच सहमतिको कुनै विकल्प नरहेको टिप्पणी गरे । ‘अहिलेसम्म २ अध्यक्षबीचको सहमतिले नै पार्टी चलेको छ,’ पौडेलले भने, ‘बोलचाल नै बन्द भयो भने त पार्टी कसरी चल्छ र ?’
अर्का एक स्थायी नेताले संवादहीनताको स्थिति नआएको तर विश्वासको वातावरण अलि कमजोर बनेको बताए ।
प्रचण्डनिकट मानिने ती नेताले लोकान्तरसँग भने, ‘दुई अध्यक्षबीच बोलचाल नै बन्द भएको रूपमा प्रचार गरिनु दुःखद छ । सामान्य मतभेद हुन सक्छ । विश्वासको वातावरण केही कमजोर भएको हुन सक्छ तर बोलचाल नै बन्द भयो भनेर मान्न म तयार छैन ।’
दुवै पक्षबीच आरोप–प्रत्यारोप
पूर्व माओवादी पक्षले सभामुख पहिलाकै सहमति अनुसार आफूहरूले पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी प्राविधिक रूपमा एक नभएको बताए ।
‘एकीकरण प्रक्रिया पूरा भइसकेको छैन,’ उनले भने, ‘पार्टीको संगठनदेखि सरकारका मन्त्रीहरू सबै २ पक्षबीचको सहमति अनुसार बाँडेर लिइएको छ । अहिले एकलौटी गरेर हुँदैन । यस्तो अवस्थामा पूर्व सहमति कायम गर्नुपर्छ ।’
सभामुख पूर्व माओवादीलाई नदिनकै लागि ओलीले उपसभामुख तुम्बाहाम्फेको राजीनामा अड्काएको प्रचण्डपक्षीय नेताहरूले आरोप लगाएका छन् तर यता ओलीपक्षीय नेताहरू भने सहमति गर्न छाडेर गुटको भेला गर्दै हिँडेपछि सबै कुरा बिग्रिएको तर्क गर्छन् । ‘प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष हुँ पनि भन्ने र गुटको भेला पनि गर्दै हिँड्ने गरेपछि कुरा बिग्रिएको हो,’ नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने ।