२२ असार २०८३, सोमबार

गण्डकी प्रदेशको गरिबीलाई शून्यमा झार्ने मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

गण्डकी प्रदेशको गरिबीलाई शून्यमा झार्ने मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो पाँच वर्षभित्रमा यो देशकै ‘सर्वश्रेष्ठ प्रदेश’ बन्ने बताएका छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित जैमिनी मेलालाई सम्बोधन गर्दै उनले समृद्ध प्रदेशको आधार तयार भएको बताए ।

'कानूनी जग, संरचना र जनशक्ति व्यवस्थापन गरिएको छ,' उनले भने, 'समृद्धितर्फको यात्रा शुरु भएको छ, हामीसँग पाँच, ११ र २५ वर्षसम्मको योजना तथा लक्ष्य छ ।'

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार बनेपछि जनतामा आशा जागेको उल्लेख गर्दै न्याय र समानतासहितको समृद्धि ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 'गण्डकी प्रदेशका १५ प्रतिशत गरिबीलाई आउँदो पाँच वर्षभित्रमा आधा र ११ वर्षभित्रमा शून्यमा झारिने छ,' उनले भने, 'प्रदेशका ८३ हजार घरधुरी अहिले पनि गरिबीको रेखामुनी रहेको सरकारी आँकडा छ । यस्तै प्रदेशको ७२ वर्षको औसत आयुलाई पाँच वर्षभित्रमा ७५ र ११ वर्षभित्रमा ८० पु¥याइने छ ।'

उनले जनताको स्वास्थ्य, सुखी र दीर्घजीवनका लागि उपचारको सहज व्यवस्था हुने र स्तरीय अस्पताल बन्ने बताए । प्रदेशका १५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा नपुगेको भन्दै उनले दुई वर्षभित्रमा सबै घरमा खानेपानी पु¥याइने प्रतिबद्धता व्यक्त गरे ।

खानेपानी आयोजनाका लागि चालू आवमा सङ्घीय सरकारको रु ८० करोड र प्रदेश सरकारको पनि सोही बराबरको बजेट परिचालन भएको उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले बिजुली नपुगेको ९ प्रतिशत घरधुरीमा आउँदो एक वर्षभित्रमा सबै घरमा बिजुली पु¥याउने उल्लेख गर्दै पाँच वर्षभित्रमा तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको जानकारी दिए ।

प्रदेशमै उत्पादित बिजुलीको उपभोग बढाइ इन्धन र ग्यासको आयातलाई विस्तारै घटाइने उनको भनाइ छ । 'यही वर्षदेखि विद्युतीय चुल्हो वितरण गर्दैछौँ, ग्यासको सट्टा यहाँ निर्मित चुल्हो प्रयोग गर्दा आधाजति खर्च बच्छ,' उनले भने, 'विद्युतीय सवारीको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग मिलेर पोखरामा बस सेवा शुरु गर्दैछौँ ।'

मुख्यमन्त्री गुरुङले इन्धन र ग्यासमा वार्षिक अर्बौ रुपैयाँ बाहिरिएको र त्यसलाई प्रतिस्थापन गर्न सके ठूलो रकम प्रदेशकै ढुकुटीमा रहन्छ भन्दै प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८५ वटै स्थानीय तह जोड्ने सडकलाई सात मिटर चौडासहित कालोपत्र गर्ने बताए ।

'हामीसँग ठूला सडक आयोजना पनि छन्, प्रदेश सरकार बनेपछि १ सय ४२ झोलुङ्गे पुल निर्माण गरिएको छ,' उनले भने, 'प्रदेशको विकास र समृद्धिका लागि पर्यटन र ऊर्जालाई मुख्य आधारका रुपमा लिइएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्