
अस्ट्रेलियाका वैज्ञानिकहरूले गाईहरू खानेकुरा र मौसमका बारेमा आफ्नै भाषामा कुरा गर्छन् भनी एक नयाँ अध्ययनमा दाबी गरेका छन् ।
उनीहरूले गूगल ट्रान्सलेट फर काउज नामक सफ्टवेयर बनाएका छन् । गाईहरूले बाँ गर्दा के भनेका हुन् भन्ने विषयमा थप जानकारी पाउन उनीहरूले सफ्टवेयर बनाएका हुन् ।
अलेक्जेन्ड्रा ग्रीन उक्त अध्ययनकी प्रमुख अध्येता हुन् र सिड्नी विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी छन् । उनले सकारात्मक तथा नकारात्मक परिस्थितिमा पनि गाईहरूले प्रतिक्रिया जनाउने गरेको बताइन् ।
गाईहरूको आफ्नै आवाज हुने र उनीहरूका विभिन्न मूडमा त्यो फरक हुने ग्रीनको भनाइ छ ।
जीववैज्ञानिकहरूले युरोपेली प्रजातिको होल्सटाइन–फ्रेसियन गाईको बाँ लाई माइक्रोफोनमा रेकर्ड गरी त्यसको पिचलाई विश्लेषण गरेका थिए ।
ग्रीन र उनको टोलीले प्रत्येक गाईको आफ्नो विशिष्ट बाँ हुने र विभिन्न परिस्थितिको संकेत दिने अनि यसले गर्दा समूहसँग सम्पर्क बनाउन सहायता पुग्ने पत्ता लगाए ।
गाईले उत्साह, उत्तेजना र पीडाको अभिव्यक्ति पनि दिने टोलीले पायो ।
गाईहरूले एकअर्कासँग जुनसुकै बेलामा पनि कुराकानी गर्ने तर खानेकुरा जस्तो खुशीको कुरा गर्दा उनीहरूको बाँ अलि नाके किसिमको हुने ग्रीनले बताइन् ।
अनि प्रतिकूल मौसमको गुनासो गर्दा उनीहरूको बाँ अलि सानो आवाजमा आउँछ ।
यो खोजले कृषकहरूलाई गाईको मूडअनुसार आवाज चिनेर आफ्नो त्यसलाई स्वस्थ र खुशी राख्न सहायता गर्न सक्छ ।
एजेन्सी