
प्रतिनिधिसभाको सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएका संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले कार्यतालिका सार्वजनिक गरेका छन् ।
कार्यतालिका अनुसार मंगलवार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारलाई प्रस्ताव गरेको सूचना गर्नुपर्ने छ । त्यसपछि अपराह्न साढे २ बजे उम्मेदवारको प्रस्तावित सूची प्रकाशन गरिनेछ ।
माघ १२ गते अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले सम्बन्धित उम्मेदवारलाई सभामुख पदमा निर्वाचन गरियोस् भनेर प्रस्ताव गर्नेछन् भने समर्थकले त्यसको समर्थन गर्नेछन् ।

उम्मेदवारको सूचीमाथि सामूहिक छलफल गरेपछि दर्ता क्रम अनुसार उम्मेदवारीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेद्वारी प्रस्तुत नहुने कार्यतालिकामा उल्लेख छ । यदि एकमात्र प्रस्ताव परेमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
सोमवार अपराह्न ४ बजेको दोस्रो बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले अध्यक्षता गरेका थिए ।
जेष्ठ सदस्य ठाकुरले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशनसमेत दिएका थिए ।
त्यसअघि ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट दिएको राजीनामा पढेर सुनाएका थिए ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उम्मेदवारका सन्दर्भमा अझै अनिर्णित छ ।