
गीतसंगीत विधाको सबैभन्दा ठूलो मानिने ग्रामी अवार्डको ६२औं संस्करण लसएन्जलसमा आइतबार अबेर राति सम्पन्न भएको छ । अमेरिकाका महान् बास्केटबल खेलाडी कोबी ब्रायनलाई श्रद्धाञ्जलि दिँदै २०२० को ग्रामी अवार्ड समारोह शुरू भएको थियो ।
सबैभन्दा धेरै आठ विधामा मनोनयनमा परेको लिज्जोको ट्रुथ हर्ट्सलाई बेस्ट पप सोलो परफार्मेन्ससहित तीन अवार्ड प्राप्त भयो । १८ वर्षीया पपगायिका बिली एलिसले पाँच ग्रामी अवार्ड जितिन् । उनी ६ विधामा मनोनयनमा परेकी थिइन् । बिली यस पटक अवार्ड जित्ने सबैभन्दा कम उमेरकी गायिका हुन् ।
बिलीले बेस्ट न्यु आर्टिस्ट, सङ अफ दी इयर, रेकर्ड अफ दी इयर र एल्बम अफ दी इयरको अवार्ड आफ्नो पोल्टामा पारिन् । ग्रामी अवार्डको सञ्चालन १५ पटक ग्रामी जित्ने एलिसिया किजले गरेका थिए । मिसेल ओबामालाई बेस्ट स्पोकन वर्ड एलबम अवार्डबाट सम्मानित गरियो ।
१८ डिसेम्बर २००१ मा लसएन्जलसमा जन्मेकी बिली गीतकार म्यागी बेअर्ड र अभिनेत्री अभिनेता ओकानेलकी छोरी हुन् । बिलीलाई संगीत र गीत लेख्न उनकी आमाले सिकाएकी हुन् । चार वर्षको उमेरमा बिलीले पहिलो गीत लेखेकी थिइन् । आठ वर्षमा उनले म्युजिक ट्यालेन्ट सोमा भाग लिएकी थिइन् । ग्रामी अवार्डको इतिहासमा पहिलो पटक युवा गायिका ६ विधामा मनोनीत भएकी हुन् र पहिलो पटक पाँच अवार्ड जितिन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनससँग ग्रामी अवार्डको रेड कार्पेटमा पुगेकी थिइन् । उनले फरक तरिकाले बास्केटबल खेलाडी कोबी ब्रायनलाई श्रद्धाञ्जलि दिइन् । प्रियंकाले आफ्नो दाहिने हातको औंलाको नङमा कोबीको जर्सी नम्बर ‘२४’ लेखेकी थिइन् ।
ग्रामी अवार्डको रेड कार्पेट सेलिब्रिटीको फेसन स्टेटमेन्टले रंगिएको थियो । सबैभन्दा धेरै ध्यान अरब फेसन काउन्सिलकी दूत मेगन पोर्मरले खिचिन् । उनले जुन पोसाक लगाएर रेड कार्पेटमा ¥याम्प नप्दै थिइन् त्यसमा ‘नो वार लभ इरान’ लेखिएको थियो । ड्रेसमा अमेरिका र इरानको झन्डा कोरिएको थियो । गायिका तथा गीतकार जय विला रातो पहिरनमा थिइन् जसमा ट्रम्प २०२० लेखिएको थियो ।
लिज्जो र बिली एलिस पहिलो पटक मनोनयनमा परेका हुन् । दुवैले पहिलो पटक ग्रामीको स्टेजमा आफ्नो प्रस्तुति दिएका थिए । रियल लाइफको जोडी ग्वेन स्टेफनी र ब्लेक सेल्टनले पनि समारोहमा पहिलो पटक प्रस्तुति दिएका थिए । प्रियंकाका पति निकले आफ्ना भाइसँग स्टेजमा प्रस्तुति दिए । उनले आफ्ना नयाँ गीत ‘फाइभ मोर मिनेट्स’ र ‘ह्वाट अ म्यान गोटा डु’ गाए । प्रस्तुतिको क्रममा निकको दाँतमा अड्किएको खानेकुरा देखिएपछि उनी लज्जित हुनु परेको थियो । यसपछि दर्शक उनलाई ट्रोल गर्न लागे ।
निकको यो भिडियो सोसल मिडियामा निकै भाइरल भयो । निक आफैंले सोसल मिडियामा लेखे, ‘कम से कम अब सबैलाई जानकारी भयो कि म पनि हरियो सागपात खान्छु ।’ जोनास ब्रदर्सलाई उनको गीत ‘सकर’ का लागि बेस्ट पप डुओर ग्रुप परफर्मेन्स विधामा मनोनयन गरिएको थियो । कार्यक्रममा प्रियंका राल्फ र रुसोको डिजाइन लगाएर पुगेकी थिइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।