२० असार २०८३, शनिबार

नाकामा छाप नलाग्दा दिल्लीमा रोकिए नेपाली

माघ १६, २०७६
नाकामा छाप नलाग्दा दिल्लीमा रोकिए नेपाली
फाइल तश्वीर

 युक्रेनमा अध्ययनरत एक नेपाली विद्यार्थी एक महिनाअघि सडकमार्ग हुँदै दिल्ली आए । दिल्लीबाटै युक्रेन उड्ने योजनामा रहेका उनी विमानस्थलमै रोकिए । कामकाजी भिसामा युक्रेन जान लागेका नेपाली दम्पती पनि दिल्ली विमानस्थल आइपुगेका थिए । हवाई भाडा सस्तो भएकाले दिल्लीबाटै उड्ने तयारी गरेका उनीहरूलाई पनि उड्न दिइएन ।

ती विद्यार्थी र दम्पतीसँग गन्तव्य मुलुकको भिसा वा अन्य कुनै कागजात नभएकाले दिल्लीको इन्दिरा गान्धी विमानस्थलका अध्यागमन अधिकारीले रोकेका होइनन् । रोकिनुको कारण हो, उनीहरू सडक मार्ग दिल्ली आउनु । सडकबाट काठमाडौं–दिल्ली यात्रा गर्दा राहदानीमा नेपालबाट बाहिरिएको र भारत प्रवेश गरेको छाप लागेको थिएन । राहदानीमा छाप नलाग्नुको कारण भने करिब आठ महिनाअघि अध्यागमन विभागले जारी गरेको नयाँ सूचना हो ।

विभागले भारत हुँदै तेस्रो मुलुक जान खोज्ने नेपालीले नाकामा पासपोर्ट देखाई प्रस्थान छाप लगाउनु नपर्ने सूचना प्रमुख नाकाका अध्यागमन कार्यालयका लागि जारी गरेको थियो । विभागले काँकडभिट्टा, पशुपतिनगर, विराटनगर, वीरगन्ज, बेलहिया, सुनौली, जमुनाहा, मोहना र गड्डाचौकीस्थित अध्यागमन कार्यालयलाई निर्देशन दिएको थियो । विभागले उक्त सूचना भारतीय पक्षलाई पनि जानकारी गराएको जनाएको थियो तर दुई देशका अध्यागमन अधिकारीबीच समन्वय नहुँदा भारत हुँदै तेस्रो देश जाने नेपाली समस्यामा पर्दै आएका छन् ।

‘नाकाका अध्यागमन कार्यालयमार्फत राहदानीमा प्रस्थान छाप लगाएर मानव तस्करहरूले नेपाली युवालाई अवैध रूपमा विदेश पठाउने गरेको सूचनाका आधारमा त्यस्तो निर्देशन दिइएको हो,’ अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले भने । नेपालका विभिन्न स्थानबाट दिनहुँ भारतका दिल्लीलगायत सहरका लागि यात्रु बस चल्छन् तर विभागले नयाँ सूचना नेपाली यात्रु र बस व्यवसायीलाई भने दिएको छैन । यसबारे दिल्लीस्थित दूतावासलाई पनि औपचारिक जानकारी गराइएको छैन । ‘नेपालीले उड्न पाइएन भनेर दूतावास आएपछि के हो भनेर विभागको सूचना हेर्दा मात्र थाहा भयो,’ दूतावास स्रोतले भन्यो ।

विभागको निर्णयका कारण नेपाल र भारतबीच अन्तर्राष्ट्रिय नाका भए पनि नेपालीहरू सडक मार्गबाट भारत हुँदै तेस्रो मुलुक उड्न नपाउने भएका छन् । त्यसरी उड्न नपाएकाले दिल्लीस्थित नेपाली दूतावासबाट पनि सहयोग पाउँदैनन् । दूतावासले सडक मार्गबाट आएकालाई तेस्रो मुलुक उड्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गर्न नमिल्ने जवाफ दिने गरेको छ । ‘आफ्नै नागरिकले दु:ख पाएको देख्दादेख्दै पनि केही गर्न सक्ने अवस्था छैन । हाम्रै निकायले सडक मार्गबाट जान नदिने नीति लिएपछि दूतावासले एनओसीले कसरी जारी गर्न मिल्यो ?’ दूतावास स्रोतले भन्यो । विमानस्थलमा रोकिएका यात्रुले मानसिक तनावसँगै थप आर्थिक भारसमेत बेहोर्न बाध्य भएको गुनासो गरेका छ । दूतावासबाट एनओसी नपाएपछि उनीहरूसँग नेपाल फर्कनुको विकल्प रहँदैन ।

दिल्लीमै ट्राभल एजेन्सी चलाएका प्रकाश पन्तले सरकारी निकायहरूले नयाँ नियम लागू गर्नुअघि त्यसले नागरिकमाथि के–कस्तो प्रभाव पार्छ भनेर अध्ययन नगर्ने हुनाले समस्या हुने गरेको बताए । ‘हाकिमैपिच्छे नयाँ नियम लागू हुन्छन्, अनि नेपालीले दु:ख पाउने नै भए,’ उनले भने । कतिपय घटनामा त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अधिकारीका कारण नेपालीले सास्ती खेपिरहेका छन् । काठमाडौंकी एक महिला एनजीओकर्मी कामको सिलसिलामा दिल्ली हुँदै अस्ट्रेलिया जाने तरखरमा थिइन् । उनी त्रिभुवन विमानस्थलबाट दिल्ली उडिन् । दिल्लीमा केही दिनको बसाइपछि अस्ट्रेलिया जान इन्दिरा गान्धी हवाई अड्डा पुगेकी उनलाई अध्यागमन अधिकारीले राहदानी हेरेर उड्न दिएनन् ।

अध्यागमन अधिकारीको भनाइ सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । किनकि त्यतिबेलासम्म पनि उनलाई काठमाडौं विमानस्थलका अध्यागमन अधिकारीले राहदानीमा भारतसम्म मात्र जान पाउने छाप लगाएको पत्तो थिएन । दिल्लीस्थित नेपाली दूतावास पुगे समस्या समाधान भएन । उनी नेपाल फर्कन बाध्य भइन् । अध्यागमनका महानिर्देशक पौडेलले भने भारतीय अध्यागमन कार्यालयले राहदानीमा भारत प्रवेशको छाप नलगाउने गरेकाले सडक मार्गबाट भारत प्रवेश गरेका नेपालीले तेस्रो मुलुक उड्न नपाएको विषयमा अनभिज्ञता प्रकट गरे । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्