
उच्च अदालत पाटनले विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामासहित ४ जनालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीवार यस्तो आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए ।
‘प्रज्ज्वल भन्ने माइला लामालगायत ४ जनालाई छाड्न आदेश भएको छ,’ रजिस्ट्रार दाहालले भने । उनीहरू साधारण तारेखमा रिहा हुनेछन् ।
अदालतले थुनामुक्त गर्न आदेश दिएकामा लामाका अलावा ईश्वर परियार भन्ने ईश्वर दमाई, भृकुटी भन्ने धिरेन्द्राकुमारी उपाध्याय र हितमान भन्ने नवीन विश्वकर्मा छन् ।
सम्बन्धित निकायमा आज आदेश पठाउने तयारी भएको दाहालले जानकारी दिए ।
राजधानीका विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा लामा लगायतका नेताहरूलाई पक्राउ गरिएको थियो ।
अदालतले हेमन्त प्रकाश ओली, सूर्य भुजेल, लोकेन्द्र कुमार खड्का, बुद्धबहादुर सिताङ, शिव धिमाल, डिकेन्द्र राई र दोर्जी शेर्पालाई भने थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।