
हेटौंडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभयाङमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, सो दुर्घटनामा परी अटो चालक बैतडी घर भई हाल हेटौंडा– ११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र मृतक पाख्रिनका छोरा १४ वर्षीय मनोज पाख्रिन घाइते भएका छन् ।
उनीहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक कार्कीले बताए । शव परीक्षणका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।