
गोपाल भट्टराई पुरानो कम्युनिष्ट नेताका रूपमा चिनिन्छन् । भट्टराई नेकपाभित्र सर्वमान्य व्यक्तिको रूपमा स्थापित नेता हुन् ।
रुपन्देहीका पुराना कम्युनिष्ट नेता भट्टराईलाई धेरै पूर्वएमाले (हाल नेकपा) नेताहरूले ‘आदरणीय गोपाल दाइ’ भनेर सम्बोधन गर्छन् । भट्टराई पाँच दशक लोकतन्त्रका लागि अविचलित रूपमा लडिरहे । लोकन्तन्त्रका खातिर लडिरहे पनि राज्यको सार्वजनिक पदमा कहिल्यै नपुगे पनि उनको आवाज र स्वर कहिल्यै दबेन ।
उनीसँगै राजनीति शुरू गरेका धेरै नेताहरू अहिले विभिन्न पद र पावरमा छन् । कैयनले सत्ता र राजनीतिक नियुक्ति पाए । तर गोपाल भट्टराईको भने उम्मेदवार बन्ने चर्चा मात्रै चल्थ्यो तर अवसर आउँदैनथ्यो ।
उनी हालै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टराई ७० वर्षको उमेरमा बल्ल सार्वजनिक पदमा पुगे । उनी विजयी भएपछि यहाँका संघ/संस्थाले उनलाई दैनिक रूपमा सम्मान गरिरहेका छन् । भट्टराई राष्ट्रियसभामा निर्वाचित भएपछि राजनीतिमा चासो राख्ने धेरैले भन्ने गरेका छन्– पर्खिएपछि अवसर त आउँदोरहेछ नि ! पार्टीप्रतिको निष्ठा, लगाव र पार्टी निर्णयप्रति निरन्तर उभिएर भट्टराई पचास वर्षको पर्खाइपछि राष्ट्रियसभामा पुगेका हुन् ।
भट्टराई भन्छन्, ‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा महासविच विष्णु पौडेलले पनि मलाई गोपाल दाइ भनेर बोलाउनुहुन्छ । सबैको दाइ म राजनीति गरेको पचास वर्षपछि सार्वजनिक पदमा पुगेँ ।’
विसं २००७ सालमा स्याङ्जाको विर्घामा जन्मिएका भट्टराई ११ वर्षको उमेरमा उनको परिवार बसाईसराई गरी रुपन्देही झरेको थियो । उनी विसं २०२४ सालदेखि निरन्तर पार्टीमा आवद्ध भएर काम गरे ।
‘सार्वजनिक पद पार्टीमा प्रतिबाद्ध भएपछि पाउँछन् । त्यसका अलावा तत्कालीन आवश्यकता पनि हो । मलाई पार्टीमा म भन्दा उमेरले जेठा नेताहरूले पनि गोपाल दाइ भन्नुहुन्छ,’ उनले भने ।
भट्टराईको घरमा प्रधानमन्त्री केपी ओलीदेखि ईश्वर पोखरेल, माधवकुमार नेपाललगायत वरिष्ठ नेताहरू पनि आउँदा बस्ने गर्छन् ।
भट्टराईले निष्ठा, धैयता, आर्दश र अविचलित रूपमा पार्टीमा काम गरिरहेको नेकपा महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल बताउँछन् । पौडेलले लोकान्तरसँग टेलिफोन कुराकानीमा भने, ‘गोपाल दाइ हामीभन्दा पनि पुरानो राजनीतिकर्मी हुनुहुन्छ । उहाँले ‘होल टाइम’ लामो समय पार्टीमा काम गर्नुभयो । उहाँ हामी सबैको प्रेरणाको स्रोत हो । उहाँ आफूलाई भन्दा विशेष जनता र पार्टीका पक्षमा काम गर्ने नेता हो ।’
सादगी र सबैका प्रिय नेताका रूपमा उनलाई लिइन्छ । २०२७ सालमा वामदेव गौतमसँगै पार्टीको पूर्णकालीन कार्यकर्ता भएर रुपन्देहीदेखि परासीसम्मका गाउँ-गाउँमा संगठन निर्माण गर्दै हिँडेका थिए उनी । बुटवल सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवन नेकपाको कार्यालय हो । तत्कालीन एमालेले बनाएको सो भवनवाटै अञ्चल, क्षेत्र र नगर कार्यालयका कामहरु चलेका थिए । सम्भवतः सो कार्यालयमा सवैभन्दा वढी वसेको र भवनले चिनेको ब्यक्ति उनी नै हुन् ।
बुटवल ७ का धनबहादुर आचार्यको घरमा केपी शर्मा ओलीलाई पार्टीले सेल्टरको रूपमा डेरा उपलब्ध गराएको थियो । भट्टराईका राजनीति सहयात्री पूर्वसांसद देवेन्द्र घिमिरे भन्छन्, ‘भट्टराई त्यो बेलाको पनि निष्ठावान् आन्दोलकारी हो । उहाँले ओलीसँग पनि धेरै समय काम गर्नुभयो । अहिले उहाँलाई उम्मेदवार बनाएर राष्ट्रिय सभामा पठायो । जित्नुपनि भयो । एकदम राम्रो गर्यो ।’
भट्टराईलाई निष्ठाको राजनीति गर्ने नेताको रूपमा लिइने गरेको घिमिरेले बताए । भैरहवामा रहेको तत्कालीन जिल्ला कार्यालयमा बस्ने पनि उनी नै हुन् । गुरुकुल शिक्षा पढेर बेद र चण्डीका धेरै श्लोक खरर पाठ गर्नसक्ने गोपाल दाइ गुरुकुल शिक्षालाई छोडेर रुपन्देहीको मणिग्राममा रहेको शान्ति स्कूलमा (हालको शान्ति नमुना मावि) अध्ययन शुरू गर्नु नै राजनीतिक प्रवेशको मुख्य ढोका बन्यो ।
शान्ति मावि मणिग्रामवाट २०२४ सालदेखि उनको राजनीतिक यात्रा शुरू भयो । सोही क्रममा देवेन्द्र घिमिरेसँग उनको निकटता बढ्यो । २०२४ सालमा पार्टीको रुपन्देही सचिव भएका घिमिरे रुपन्देहीको कम्युनिष्ट राजनीतिका संस्थापक मध्येमै पर्छन् । त्यस अगाडि लालसिंह भण्डारी, पृथ्वी शेरचन, पीवी मल्ल, तीरथ हरिजन, श्यामसिंह प्रधानहरू थिए, तथापि देवेन्द्र घिमिरेसहित जीवराज आश्रित, मोदनाथ प्रश्रित, गोविन्द ज्ञवालीहरू पहिलो पुस्तामै पर्दथे । तिनै घिमिरेले अध्ययन गर्ने विद्यालयमा गोपाल भट्टराई भर्नाभएपछि स्वभावैले संगत बढ्यो ।
'देवेन्द्र घिमिरे शान्ति माविका शैक्षिक सुधारक हुनुहुन्थ्यो । उहाँले विद्यार्थीलाई फाइदा हुने विषय उठाउनुहुन्थ्यो, त्यसैले पनि हामी उहाँवाट प्रभावित हुन्थ्यौं, त्यस्तो व्यक्ति गिरफ्तार हुँदा हामी सवैलाई रिस उठ्नु स्वभाविक हुन्थ्यो,' भट्टराईले ती दिनलाई स्मरण गर्दै भने ।
पढाईमा अब्वल र तिक्ष्ण घिमिरेलाई २०२० सालमा विद्यालयले राजनीतिमा लागेको भन्दै निष्कासन गरेपछि त भट्टराईमा पनि विद्रोहको आगो सल्कियो ।
भट्टराई २०२५ मा सरस्वती पाण्डे र बावुराम पाण्डेको सम्पर्कबाट कम्युनिष्ट पार्टीको निकट भए । यसको कारण के छ भने २०२४ सालमा विद्यालयमा ठूलै आन्दोलन भयो । सो आन्दोलनको नेतृत्व चुरामणि खरेल, बाबुराम अर्याल, टीकानिधि गौतम, सरस्वती पाण्डे, वावुराम पाण्डेहरूले गरे । आन्दोलनमा गोपाल दाइ र खिमलाल पुरी घाइते भए । कविराज पुनले विद्यार्थीहरूलाई दबाउने काममा विशेष भूमिका खेलेपछि उनीमाथि कुटपिट पनि भयो ।
उनलाई २०२६ सालको विद्यार्थी आन्दोलनलेनै राजनीतिक रूपले कम्युनिष्टप्रति आकर्षित बनाएको हो । के कारणले हो उनलाई हेक्का छैन तर त्यतिवेला एकैपटक देशभरिका १८ वटा कलेज खारेजीमा परे । विद्यार्थीलाई यति भएपछि राम्रै विषय वन्यो र आन्दोलन चर्कियो । पक्लिहवाको रात्रि कलेज पनि खारेजीमा परेकोले हुनुपर्छ सो आन्दोलनको दौरानमा भैरहवामा जीवराज आश्रितको नेतृत्वमा विशाल जुलुस निस्क्यो ।
जुलुसले प्रहरीका लाठीलगायतका औजारहरू खोस्यो । पुलिस भागे । विद्यार्थीहरू हौसिए र पक्लिहवामा गएर आमसभा गरे । पुलिस पुनः हतियारसहित तयारीकासाथ आयो । यो कुरालाई वामदेव गौतमले नेकपा एमाले अञ्चल समन्वय कमिटी, लुम्बिनीले प्रकाशन गरेको लुम्बिनी सन्देश नामक पुस्तकमा प्राथमिकताका साथ उल्लेख गरे । गौतमले पहिलो पटक आश्रितको भाषण त्यही सभामा सुनेको अनुमान आलेखवाट बुझ्न सकिन्छ । आन्दोलनकारीलाई घेराबन्दी गरेर रामधुलाई गरे । जीवराज आश्रित र पुण्यभक्तहरू पक्राउ परे ।
यो घटना नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मानिन्छ । यही प्रकरणले नेपालमा पञ्चायती ब्यवस्थाको संरक्षणका लागि राष्ट्रवादी विद्यार्थी मण्डल जन्म्यो । पार्टीको पूर्णकालीन भएपछि २०२७ सालमा भट्टराईले हरुवा चरुवाको आन्दोलन उठाए । रोहिणी नदीको पूर्वी भागमा जिम्मा लिएपछि उनी पार्टी सचिव भए । केरवानीका किस्मतबहादुर मुनङ्गकर्मी जमिनदार थिए । उनीसँग प्रशस्त हरवा चरवा थिए । जसले वर्षभरी काम गरेबापत ५ गुनदेखि ७ गुनसम्म धान, एक टीन दाल, दुई लिटर तेल र चार किलो नुन दिइन्थ्यो । खान पनि नपुग्ने यो ज्यालालाई लिएर जमिनदार विरोधी आन्दोलन उठाइएको थियो ।
२०३० सालमा चुरामणी खरेल नवलपरासीको ईन्चार्जबाट फिर्ता भएपछि गोपाल दाइ ईन्चार्ज बनाइए जहाँ उनले ६ वर्ष बिताए । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग एक बर्ष सँगै काम गरे । धैर्यताका प्रतिमूर्ति गोपाल दाइको राजनीतिक जीवनका उतारचढाव अन्य कम्युनिष्ट कार्यकर्ताका लागि उदाहरणीय र पठनीय छ । दोस्रो पटक ०४५ देखि निरन्तर रुपन्देहीको जिल्ला कमिटी सदस्यको रूपमा रहेका उनी नेकपा एमालेको तत्कालीन अञ्चल कमिटी हुँदै हाल एकीकृत नेकपाको प्रदेश सदस्य छन् ।