
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५७ दिन संसद अवरोध गरेको कटु अनुभव नदोहोर्याउनका लागि सदन अवरोध हटाउने निर्णय गरेको बताएको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पार्टीका नेता विजयकुमार गच्छदारमाथि अख्तियारले पूर्वाग्रही भएर भ्रष्टाचार मुद्धा दायर गरेपनि आफूहरूले विगतमा एमालेले गरेको जस्तो लगातार संसद अवरुद्ध गर्ने कटु अनुभव दोहोर्याउन नचाहेको बताएकी हुन् ।
‘जनता र देशको स्वाधीनताको लागि राजद्रोहको मुद्दालाई पनि लोकतन्त्रको लागि मुलुक भित्रबाट लड्छु भनेर वीपी स्वदेश फर्किनुभएको थियो । न्यायपालिकाको तटस्ठतामाथि कांग्रेसले प्रश्न गरेको छैन,’ भुसालले भनिन् ।
प्रधानमन्त्री कार्यालयले गुरुयोजना बनाउन भनेर दिएको निर्देशन अनुसार विजयकुमार गच्छदारले मन्त्रिपरिषद्मा प्रस्ताव गरेकोमा मुख्यसचिवले उपयुक्त मानेर मन्त्रिपरिषद्मा लैजानु भएको भनेपछि गच्छदारलाई मात्र मुद्दा लगाइएको भुसालले आरोप लगाइन् ।
‘संसदीय मूल्य मान्यताको सम्मान गर्दै र ५७ दिन संसद अवरोध गरेको कटु अनुभवलाई दोहोर्याउन चाँहदैनौं । फेरि पनि यस्तो प्रतिशोधी कामको विरोधमा कांग्रेसले प्रतिरोध गर्नेछ,’ भुसालले भनिन् ।
भुसाल बोलेपछि प्रतिनिधिसभाको बैठक ६ दिनपछि सुचारु भएको छ । पार्टी संसदीय दलका उपनेता एवं उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि कांग्रेसले माघ २३ गतेदेखि संसद अवरुद्ध गरेको थियो । सोमवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठक र मंगलवार बसेको संसदीय दलको बैठकको निर्णय अनुसार कांग्रेसले सदन अवरोध हटाउने निर्णय गरेको थियो ।
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियारले गच्छदार लगायत १ सय १० जनाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छदारमाथि पूर्वाग्रही ढंगले मुद्दा दायर गरिएको भन्दै कांग्रेसले माघ २३, २४ र २६ गते प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।