२२ असार २०८३, सोमबार

चुनौतीको जिम्मेवारीमा 'निर्विवाद' आइजीपी ठाकुर

चुनौतीको जिम्मेवारीमा 'निर्विवाद' आइजीपी ठाकुर

नेपाल प्रहरीमा २७ औं प्रहरी महानिरिक्षक (आइजीपी) रूपमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

शालीन र भद्र स्वभाव भएका आइजीपी ठाकुर प्रहरी सङ्गठभित्र विवादरहित मानिन्छन् ।

उनलाई मंगलवारको मन्त्रिपरिषद बैठकले आइजीपी नियुक्त गरेको हो ।

ज्ञवाली २०२२ साल असोज २८ गते प्युठानको झिमरुक गाउँपालिका–१ जन्मेका थिए ।

बुवा नरायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीको कोखबाट जन्मेका ठाकुर २०४७ साल असार २५ गते वैकल्पिक प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए ।

उनको पहिलो पोस्टिङ नेपाल प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभागमा भएको थियो ।

स्थानीय बालशिक्षा माध्यमिक विद्यालयबाट २०३७ सालमा एसएलसी पास गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

२०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक (डीएसपी), २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक (एसपी), २०७३ असार २८ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), २०७५ असोज २८ गते प्रहरी नायब महानिरिक्षक (डीआइजी) हुँदै आज २०७६ माघ २८ गते प्रहरी महानिरिक्षक (आइजीपी) भएका हुन् ।

उनले सेवाका क्रममा प्रहरी तालिम केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थल, अपराध महाशाखामा कमाण्ड सम्हालेका थिए ।

प्रहरी उपरीक्षक हुँदा झापा, दाङ, बारा लगायतका जिल्लामा निर्विवाद रहेर प्रहरी कमाण्ड सम्हालेका थिए  ।

हाइटी, कोसोभो, पूर्वी टिमोर लगायत संयुक्त राष्ट्रसंघीय मिसनमा समेत ठाकुरले सेवा गरेका छन् ।

पछिल्लो समय प्रहरी नायव महानिरीक्षक (डीआइजी) भएपछि प्रदेश नम्बर १ को प्रहरी प्रमुखको जिम्मेवारीमा थिए ।

हालसम्मको सेवा अवधिमा निर्विवाद रहेपनि ठाकुरको अब चल्ने ५ महिने आइजीपी यात्रा भने सहज छैन ।

के सुल्झिएला त निर्मला हत्याकाण्ड ?

२०७५ साउनमा कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षे किशोरी निर्मला हत्याकाण्डका दोषीलाई कठघरामा ल्याउनु ठाकुरको पहिलो चुनौती हो ।

सरकारसमेत आलोचित भएको निर्मला हत्याकाण्डको कसी अहिलेसम्म टुंगिन सकेको छैन ।

देशभर निर्मलाको न्यायको लागि भन्दै आन्दोलन भएपनि अहिलेसम्म दोषी को हो ? भन्ने पत्ता लाग्न सकेको छैन । यसअघि गरिएका अनुसन्धानहरू विवादित बन्दै गइरहेका छन् ।

देशभित्र बढिरहेका हत्या, बलात्कार, चोरी, तस्करी लगायतका घटनाहरू न्यूनीकरण गर्नु ठाकुरको दोस्रो चुनौती हुनेछ ।

प्रहरीमा देखिएको फेक इन्काउन्टरको प्रवृत्तिलाई निस्तेज पारेर प्रहरीप्रति आम जनताको धारणामा सकारात्मक परिवर्तन ल्याउने जिम्मा अब ठाकुरकै काँधमा आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्