
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीभित्रका असन्तुष्टि मिलाएर अघि बढ्ने बताएका छन् ।
मंगलवार सुर्खेतमा आयोजित नेकपा अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलले पार्टी एकतापश्चात पार्टीमा असन्तुष्टि रहेको र त्यसलाई नेतृत्वले मिलाएर अघि लैजाने बताएका हुन् ।
‘हामी बीचमा पार्टी एकतापश्चात असन्तुष्टि पनि छ तर हामी त्यो असन्तुष्टिलाई मिलाएर लैजान्छौं,' पौडेलले भने, 'पार्टी एकता प्रक्रिया वडा तहमै हामी सम्पन्न गर्छौं । पार्टी र सरकारबीचको कामको प्रक्रियाबारे केही अलमल छन् ती सबै मिलाएर हामी लैजान्छौं ।’
पौडेलले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन र सरकारको काम कारवाहीबारे जनस्तरमा लैजान ३ महिने अभियान शुरू गर्ने बताए ।
‘आगामी चैत, वैशाख र जेठमा वडास्तर, पालिकास्तरसम्मै हामी ३ महिने अभियान शुरू गर्दैछौं,' उनले भने, 'त्यसले आम पार्टी कार्यकर्तामा एक खालको नयाँ उर्जा आउने छ भने संगठन चलायमान हुनेछ ।’
उनले सरकारले हालसम्म गरेका कामहरुको बारेमा पनि जनतालाई सोही अवधिमा जानकारी दिने बताए ।