२३ जेठ २०८३, शनिबार

पाँचखालमा सेनाले २१७ रोपनी जग्गा अधिग्रहण गर्दै

फागुन २२, २०७६
पाँचखालमा सेनाले २१७ रोपनी जग्गा अधिग्रहण गर्दै

नेपाली सेनाले पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र आसपासका क्षेत्रमा २१७ रोपनी जग्गा अधिग्रहण गर्न लागेको छ ।

१६५ हेक्टर जग्गा रहेको पाँचखालको तालिम केन्द्रलाई थप विस्तार गर्नुपर्ने भन्दै थप २१७ रोपनी जग्गा अधिग्रहण गर्न लागेको हो ।

नेपाली सेनाले आगामी दिनमा १० हजार नेपाली सेनाका सकल दर्जा र विदेशबाट शान्ति सेना सम्बन्धी तालिम लिन आउने संख्या बढाउने लक्ष्य, केन्द्र आधुनिकीकरण र अनुसन्धानको केन्द्रको रुपमा समेत विकास गर्न लागेकाले स्थानको अभाव हुने भएका कारण जग्गा अधिग्रहण गर्न लागेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति महासेनानी मनोज बैदवारले बताए ।

‘हाल ५ हजार क्षमता रहेको यस तालिम केन्द्रलाई आगामी दिनमा केन्द्रलाई पूर्वाधारको विकाससँगै थप उत्कृष्ट बनाउने गरी अवधारण तयार भएको छ । यसको लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढिरहेको छ । जग्गाबारे सुरक्षा समितिले समेत निर्णय गर्छ,’ बैदवारले भने ।

शान्ति सेनामा जाने नेपाली सेनाका सकल दर्जाले पाँचखालमा गर्ने तालिमले स्थानीयलाई असर गरेको भन्दै विरोध गर्दै आएका छन् तर नेपाली सेनाले आफूहरूलाई तालिम गर्ने स्थानको अभाव भएको भन्दै अधिग्रहण गर्न लागेको हो ।
तत्कालीन माओवादी लडाकु महिला शान्ति सेनामा

शान्ति सेना मिसनमा रहेका १८१ जना महिलामध्ये अधिकांश महिला तत्कालीन माओवादी लडाकु रहेका छन् । ‘शान्ति मिसनमा रहेका महिला सेनामध्ये अधिकाशं महिला सेना पूर्व माओवादी लडाकुहरू हुनुहुन्छ । मिसनमा अहिले महिलालाई सहभागिता बनाउने यूएनको नीति अनुरूप महिला पनि सहभागी गराउँदै आएका छौं,’ महासेनानी बैदवारले भने ।

द्वन्द्वरत मुलुकहरू कंगो, दक्षिण सुडान, पश्चिम साहारा, इजरायल, लेवनान, माली, सिरिया, अफ्रिकन रिपब्लिक लिविया र इराकमा गरी १२ वटा फरक–फरक मिसनमा ५ हजार ९६ नेपाली सेना अहिले पनि तैनाथी अवस्थामा छन् । 

२२ वटा देशमा ४३ मिसन

नेपाली सेनाले हालसम्म २२ वटा देशमा ४३ वटा मिसनमा भाग लिएको छ । हालसम्म १ लाख २९ हजार ९९ जनाले भाग लिएको जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ । ६५ जनाले मिसनको क्रममा ज्यान गुमाएका छन् भने ६६ जना घाइते भएका छन् ।

शान्ति कार्यतालिम केन्द्रको ६२ वर्षको इतिहास

२०४३ सालमा शुरू भएको ५ खालको शान्तिकार्य तालिमकेन्द्रले ६२ वर्षको इतिहास पार गरिसकेको छ । स्थापना भएपछि विभिन्न मिसनमा १ लाख २९ हजार जनालाई तालिम दिइसकेको तालिम केन्द्रका केन्द्रपति महासेनानी मनोज बैदवारले बताए ।

१६५ हेक्टरमा फैलिएको तालिम केन्द्रले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत विदशी सेनालाई शान्ति सेना सम्बन्धी तालिम दिँदै आएको महासेनानी बैदवारले बताए ।

‘विश्वको एक मात्र प्रख्यात पुरानो र उत्कृष्ठ तालिम केन्द्रको रुपमा चिनिएको छ । यूएनको मापदण्ड अनुसार तालिम दिइने भएकाले यस तालिम केन्द्रलाई यूएनले प्रमाणपत्र समेत दिएको छ,’ केन्द्रपति बैदवारले भने ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सेनामा जाने सेनालाई तालिमका अलवा विशेषज्ञ तालिम, शिक्षक तालिम र अंग्रेजी र स्पेनिस भाषाको तालिम समेत दिँदै आएको छ ।

तालिम केन्द्रमा हाल ३ वटा बटालियन, २ वटा विशेषज्ञ टोली र १२ जना विदेशीलाई तालिम दिनसक्ने क्षमता रहेको छ भने ६ वटा युनिटमा १ हजार ४८ जनाले तालिम गरिरहेका छन् ।

सन् २००० मा ३ जना, २०१३ मा २३ राष्ट्रका ८५० जना र हाल २४ राष्ट्रका १ हजार १३५ जना विदेशी सेनाले तालिम लिइसकेको तालिम केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्