
काठमाडौं ६ चैत्र– केही बर्ष अघिसम्म पनि मधेसी दल र थारु संगठनको सम्बन्ध ‘कुकुर र बिरालो’को जस्तो थियो । थारु संगठनहरुले मधेसी दलको अस्थितव स्वीकार्दैनथे, मधेस केन्द्रीत दलले थारुलाई पनि मधेसी भन्थे ।
मध्य तराइका जिल्लामा मधेस केन्द्रीत दलले ‘एक मधेस एक प्रदेश’को नारा लिएर आन्दोलन गर्दा त्यसको ‘प्रतिकार’मा थारुहरुले पश्चिम तराइका जिल्ला ठप्प पारे । थारु आन्दोलनको रणनीति बनाउने मध्येका एक थिए राजकुमार लेखी ।
थारु कल्याणकारी सभा मार्फत नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व गरेका लेखीले जातीय राज्यका विरुद्ध आन्दोलन चर्काउन पश्चिमा शक्तिले दिएको दवाव अस्वीकार गरेका थिए । सोही कारण जनजाती महासंघलाई दिँदै आएको सहयोग युरोपेली युनियन लगायतका संस्थाले रोकिदिए ।
नेपालमा जातीय नारा हावी भइरहेको समयमा त्यसलाई रोक्न महासंघको अध्यक्षको हैसियतमा खेलेको भूमिकाका कारण लेखी चर्चामा रहीरहे । महासंघको अध्यक्षबाट अवकास साएपछि लेखीले नागरिक समाजवादी पार्टी खोले ।
दोस्रो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा लेखीको पार्टी नेकपा एमालेसँग एकीकरण गर्ने चर्चा चल्यो । लेखीलाई एमालेले केन्द्रीय सदस्य बनाउन तयार भएको बाहिर प्रचारमा आएको थियो ।
धेरैलाई आश्चर्यमा पार्दै लेखी मंगलवार सद्भावना पार्टी प्रवेश गरे । पार्टी एकीकरण भनिए पनि खासमा एक पटक पनि चुनावमा सहभागि नभएको नागरिक समाजवादी पार्टीले दलको स्वरुप ग्रहण गरिसकेको छैन् । नागरिक समाजवादी पार्टी भन्नु नै लेखी थिए ।
सद्भावनासँग एकीकरण कसरी ? विगतमा ‘एक मधेस एक प्रदेश’को नारा लगाउने मधेस केन्द्रीत दलले विस्तारै आएर थारुहरुको अस्थित्व स्वीकार्न थाले, जसको जश लेखीलाई समेत जाने गरेको मधेस केन्द्रीत नेताहरु बताउँछन् । लामो समय संघर्ष गर्दा समेत आफूहरुको आवाज राज्यले नसुनेको थारु संगठनका नेताहरु बताउँदै आएका छन् ।
‘आन्दोलनका क्रममा सद्भावनाबाट सहकार्यको प्रस्ताव आयो त्यसैले एकीकरण सम्भव भयो’ लेखी निकट स्रोतले भन्यो, ‘सद्भावना थारुहट प्रदेशको अस्थित्व स्वीकार गर्न तयार भएको छ ।’
सद्भावना पार्टी तराइ मधेसको पुरानो पार्टी भएकोले पनि लेखीले एकीकरणका लागि सद्भावना पार्टी रोजेको उनका निकटवर्तीहरुले बताए । ‘आन्दोलनमा रहेका अन्य मधेस केन्द्रित दलसँगपनि कुरा नभएको होइन, सद्भावनासँग कुरा मिल्यो’ स्रोतले भन्यो ।
लेखीले सद्भावना पार्टीमा महासचिवको हैसियत पाउने छन् । पार्टी एकीकरणको समयमा भएको सम्झौता पात्रमा पार्टीलाई राष्ट्रिय स्वरुप प्रदान गर्ने सहमति भएको छ । सद्भावनामा लेखीको प्रवेशलाई अन्य दलले पनि रुची पूर्वक लिएका छन् भने कसैले निर्वाचन कानूनमा प्रस्तावित थ्रेसहोल्डको प्रभाव मानेका छन् ।
थ्रेसहोल्ड प्रभाव तथा जातीय पार्टी प्रतिको विकर्षणका कारण मधेस केन्द्रीत अन्य दलपनि एकीकरणको तयारीमा लागेका छन् । आगामी संसदीय चुनावमा लेखी सप्तरीवाट प्रत्यक्ष तर्फ उठन सक्ने सद्भावना पार्टी स्रोतले बतायो । हाल संसदमा सद्भावनाका पाँच जना सांसद छन् ।