दुर्गम क्षेत्र मानिएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोट जोड्ने ‘भोलुङ्गे पुल’ निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् ।
वर्षौंदेखि रामघाट खोलामा पुल नहुँदा तीन घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका हुन् ।
यो ठाउँमा पुल नहुँदा पहिले केही मान्छेलाई खोलाले बगाएको छ । सामान्य कामका लागि पनि खोला वारपार गर्नुपर्ने भएकाले बर्सातको समयमा खोला उर्लिएपछि वारपार गर्न निकै समस्या हुने गरेको स्थानीयवासी मेगे भण्डारीले बताए ।
अब खोलामा ८० मिटर लामो पुल बन्ने भएपछि दुई स्थानीय तहका सयौँ नागरिक लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए ।
चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले पुल बनाउन रु ३५ लाख २२ हजार ९०८ बजेट दिएको छ ।
पुल निर्माणको काम शुरू भइसकेको अध्यक्ष बुढाले बताए ।
'पुल निर्माणपछि २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्”, उनले भने, “अब वैशाख महिनादेखि पुल सञ्चालनमा आइसक्ने गरी काम थालनी गरिएको छ । करीब रु १८ लाख बराबरको सामग्री ढुवानी भइसकेको छ ।'
पुलका लागि आवश्यक पर्ने लट्ठा ढुवानी केही दिनमै हुने उनले बताए । स्थानीयवासी अर्जुन शाहीले पुल निर्माण भएपछि ठाटीकाँधबजार जान पहिलेभन्दा अब तीन घण्टा छोटो बाटो हिँड्नुपर्ने बताए ।