२१ असार २०८३, आइतबार

अफगानिस्तानबाट बाहिरिन थाले अमेरिकी सैनिक

फागुन २७, २०७६
अफगानिस्तानबाट बाहिरिन थाले अमेरिकी सैनिक

अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकहरू बाहिरिने क्रम शुरू भएको गठबन्धन बलहरूले मंगलवार पुष्टि गरेका छन् । 

‘अमेरिका र अफगानिस्तानको संयुक्त घोषणा अनि अमेरिका र तालिबानबीच भएको सम्झौता मुताबिक अफगानिस्तानमा रहेका अमेरिकी बलहरू १३५ दिनमा ८ हजार ६०० मा झारिनेछ,’ यूएस फोर्सेस अफगानिस्तानले जनायो । 

फागुन १७ गते अमेरिका र तालिबानबीचको सम्झौता कतारमा भएको थियो अनि त्यही दिन काबुलमा वाशिङटन र काबुलले संयुक्त घोषणा गरेका थिए । 

सम्झौताअन्तर्गत अमेरिकाले अफगानिस्तानमा १३५ दिनमा सैनिकको संख्या घटाएर ८ हजार ६०० मा झार्ने र तालिबानले सम्झौताबमोजिम शर्त मानेमा १४ महिनाभित्र सबै अमेरिकी सैनिक घर फर्किने प्रावधान छ । 

अमेरिकी सेनाको पहिलो डफ्फा हेल्मान्द प्रान्तबाट निस्केको बताइएको छ । 

सन् २०१५ को जनवरी १ बाट अफगान सुरक्षा बलहरूले नाटो र अमेरिकी बलहरूबाट सुरक्षाको पूर्ण जिम्मेवारी लिएका छन् । 

अफगानिस्तानमा अहिले १३ हजार अमेरिकी सैनिक सहित १६ हजार विदेशी सैनिक छन् । उनीहरू विद्रोहीविरुद्धको लडाइँमा स्थानीय सुरक्षा बललाई तालिम दिन र सहायता गर्न बसिरहेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्