
अत्यावश्यकबाहेक सबै सेवा बन्द भएपनि सिंहदरबारका सरकारी कार्यालयहरू भने खुला छन्, यद्यपि सेवाग्राही भने छैनन् ।
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ (आज)देखि चैत २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरूले कार्यालयमा उपस्थित भएर सहयोग गर्ने अपेक्षसमेत गरेका थिए ।
सेवाग्राहीका लागि कार्यालय बन्द भएपनि कर्मचारीहरू भने उपस्थित भएका छन् ।

कर्मचारी नै सेवाग्राही हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने केही सेवाग्राही उपस्थित भएको मन्त्रालयका संगठन विकास महाशाखा प्रमुख सहसचिव यामप्रसाद भुसाल बताउँछन् ।
‘यो शाखामा सेवा लिने कर्मचारी नै हुन्, आज पनि ८/१० जना सेवाग्राहीलाई सेवा गरें, तर यो संख्या विगतको तुलनामा नगण्य हो,’ सहसचिव भुसालले लोकान्तरसँग भने ।
आफूहरू सरकारको निर्णयबमोजिम जुनसुकै समयमा पनि काम गर्न तयार रहेको र छुट्टि नभएपनि गुनासो नरहेको सहसचिव भुसालले बताए ।
यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले मन्त्रालयसँग सेवाग्राही प्रत्यक्ष नहुने भएकाले नियमित कामहरू भइरहेको बताए ।
‘हामीले नीतिगत तहको काम गर्ने भएकाले काममा कुनै कमी भएको छैन, सिंहदरबारभित्र कर्मचारी उपस्थित हुने, अत्यावश्यक सेवा प्रवाह गर्ने, यो अवस्थामा कार्यालयका आन्तरिक सुधारका काम गर्ने र सरकारले खटाएको अवस्थामा जुनसुकै अवस्थामा काममा काममा खटिने निर्देशन भएको छ,’ प्रवक्ता दाहालले भने ।
सहसचिवदेखि माथिका कर्मचारीले बिदा पनि नलिएर चौबिसै घण्टा तयार भएर बस्ने निर्देशन भएको प्रवक्ता दाहालले बताए ।
भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारी मन्त्रालय प्रशासन महाशाखाका उपसचिव टोलराज उपाध्यायले आफ्नो मन्त्रालय सेवाग्राहीको प्रत्यक्ष काम गर्ने कार्यालय नभएकाले आन्तरिक काम भइरहेको बताए ।
‘आन्तरिक रूपमा हुने कामहरू भइरहेका छन्, सेवाग्राही आउन बन्द गरिएतापनि हाम्रो कामको नियमितता रोकिएको छैन,’ उपसचिव उपाध्ययले लोकान्तरसँग भने ।
अनिवार्य ज्वरो मापन

सिंहदरबार परिसरभित्र प्रवेश गर्दा अनिवार्य ज्वरो नाप्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य सेवा विभागले आजबाट सिंहदरबार परिसरभित्र प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीलाई ज्वरो नापेर मात्रै प्रवेश गर्ने व्यवस्था गरेको डीएसपी राकेश सिंहले जानकारी दिए ।
सिंहका अनुसार सिंहदरबारमा प्रवेश गर्ने व्याक्तिलाई १ सय दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएको भेटिएमा स्वास्थ्य सेवा केन्द्रमा पठाउने निर्देशन भएको छ ।