धनगढी, ८ वैशाख– धनगढी उपमहानगरपालिकाको मेयरका लागि व्यापारी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) धनगढीमा घोषणा सभा गर्दै हमालले उपमहानगरपालिका क्षेत्रको समृद्धि र विकासको जनचाहानाको प्रतिनिधि पात्रको रूपमा आफू मेयरमा चुनाव लड्न लागेको बताए । हमालले उपमहानगरपालिकाको विकासका लागि २८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।
हमालले आफ्नो घोषणापत्रमा आफू मेयरमा निर्वाचित भए ५ वर्षमा मुलुककै समुन्नत शहर बनाउने, धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन लविड्ड गर्ने, यातायात विकास, फोहरमैला व्यवस्थापन गर्ने, पदमा रहँदा उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने र आफूले उपमहानगरपालिकाबाट सेवासुविधा नलिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष रहेका हमालले त्यसपटक थालेका गेटा विमानस्थलको स्तरोनन्ति, ट्रक व्यवसायीको सिण्डिकेट विरुद्धको आन्दोलन र सुन्दर सुदूरपश्चिम अभियानप्रति नागरिकको सहयोग पाएका थिए ।