लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा हेरचाह गर्न प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएका छन् ।
शुक्रवार भएको टेलिफोन संवादका क्रममा २ देशका प्रधानमन्त्रीबीच कोरोनाभाइरस विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारू बनाउन छलफल भएको ओलीले उल्लेख गरेका छन् ।
भारत सरकारले उपलब्ध गराउने औषधि लगायतका सहयोगका लागि धन्यवाद दिएको ओलीले लेखेका छन् ।
मोदीसँगको टेलिफोन संवादबारे ओलीले ट्विटरमा लेखेका छन्– 'आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोनाभाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं । आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारू राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।'