
कोरोनाभाइरस बनाएर लीक गराएको भनी षड्यन्त्र सिद्धान्कारहरूले तारो बनाएको वुहानस्थित प्रयोगशालालाई अमेरिकी सरकारले ३७ लाख डलर सहायता गरेको खुलासा भएको छ । उक्त रकम चमेरोहरूको अध्ययनमा उपयोग गरिएको छ ।
वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले युन्नानमा समातेको चमेरोमा कोरोनाभाइरस परीक्षण गरेको छ र त्यसका लागि अमेरिकी सरकारले रकम उपलब्ध गराएको हो ।
कोभिड–१९ भाइरसको जिनोमलाई अध्ययन गर्दा युन्नानका गुफामा बस्ने चमेरोहरूसम्म वैज्ञानिकहरू पुगे तर यो वुहानको पशु बजारमा मानिसहरूमा सरेको ठानिएको थियो ।
वुहानको उक्त इन्स्टिच्युटले कोभिड–१९ को स्रोत मानिएको क्षेत्रका चमेरोहरूमाथि परीक्षण गरिरहेको र त्यसमा अमेरिकी रकम उपयोग गरिएको खुलासा भएपछि अमेरिकी सांसद र दबाब समूहहरूले अमेरिकी सरकारको आलोचना गरेका छन् । ‘
अमेरिकी सांसद म्याट गाएट्जले भने, ‘अमेरिकी सरकारले वुहान इन्स्टिच्युटमा खतरनाक तथा क्रूर तरिकाले पशुहरूमाथि गरिने परीक्षणमा लगानी गरिरहेको थाहा पाउँदा मलाई विरक्ति लाग्यो । उक्त इन्स्टिच्युटले संसारभरि कोरोनाभाइरस फैलाएको हुन सक्छ र चीनका अन्य प्रयोगशालामा अमेरिकी अधिकारीहरूले कुनै निगरानी गर्ने गरेका छैनन् ।’
शनिवार अमेरिकी दबाब समूह ह्वाइट कोट वेस्टका अध्यक्ष एन्थोनी बेल्लोत्तीले चीनमा डलर खर्च गरेको भन्दै अमेरिकी सरकारको भर्त्सना गरे ।
वुहान इन्स्टिच्युट अफ भाइरोलोजी चिनियाँ मुख्यभूमिको सबभन्दा विकसित प्रयोगशाला हो र कोरोनाको उद्गमस्थल मानिएको पशुबजारबाट यो २० माइल मात्र पर छ ।