'कोरोना संकट'का बीच यी सम्भावना र अवसरतर्फ पनि ध्यान दिने कि ?

झकबहादुर मल्ल 'सुदीप'
झकबहादुर मल्ल 'सुदीप'

मल्ल नेकपाका केन्द्रीय सदस्य हुन्

आज सिंगो विश्व कोभिड- १९ अर्थात् कोरोनाभाइरस विरुद्धको कठिन संघर्षमा छ । जसका कारण चार महिनाको यो अवधिमा विश्वका एक लाखभन्दा बढी मानिसहरूले जीवन गुमाइसकेका छन् ।

पाँच लाखभन्दा बढी मान्छेहरू उपचारपश्चात् निको भएका छन् भने २० लाखभन्दा बढी मान्छेहरूमा संक्रमण देखा परिसकेको छ । यो रोगको फैलिने क्रम पनि दिनदिनै बढिरहेको छ । यसले गर्दा विश्वको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भइरहेको छ । यसरी पनि बुझ्न सकिन्छ कि आज सारा विश्व लकडाउनको स्थितिमा छ ।


Advertisement

दिनप्रतिदिन संक्रमण फैलिँदै जानु र यसको औषधि अहिलेसम्म पत्ता नलागेका कारण यो महामारीको सम्भावित जोखिमको अनुमान गर्न समेत गाह्रो भइरहेको छ ।

संक्रमण रोक्न र संक्रमितहरूको उपचारमा विकसित राष्ट्रहरू समेत असफल भइरहेको स्थितिमा यो संकट अझै गहिरिने देखिन्छ । संक्रमण रोक्नका लागि विश्वले अवलम्बन गरेको लकडाउनका कारण सम्पूर्ण गतिविधिहरू ठप्प भएका छन् ।

जनजीवन अस्तव्यस्त भएको छ नै यसले विश्वमा आर्थिक मन्दीका कारण कष्टपूर्ण भविष्यको डरलाग्दो चित्र समेत प्रस्तुत गरिदिएको छ । 

विगत २० दिनदेखि नेपालमा पनि लकडाउन गरेर कोरोना विरुद्धको कठिन लडाइँमा हामी सहभागी भएका छौं । हालसम्म १५ जना संक्रमितहरू फेला परिसकेको स्थितिमा नेपालमा पनि यो महामारीले रातो बत्ती बालिसकेको छ ।

सम्पूर्ण उद्योग धन्दा, शैक्षिक संस्था, कलकारखाना र यातायात समेत बन्द अवस्थामा रहेका छन् । रोग फैलिन सक्ने सम्भावना त आफ्नो ठाउँमा छँदैछ, महामारीको सम्भावित खतरालाई रोक्न युद्धस्तरमा लाग्नुपर्ने आवश्यकता यतिखेर टड्कारो बनेको छ ।

हालसम्म जे जस्तो सावधानी र तयारी गरिएको छ, यति नै पर्याप्त भन्न सकिने स्थिति छैन ।

यो संक्रमण र महामारीविरुद्धको लडाईंमा विश्वका सबै राष्ट्रहरूले आफ्नो तरिका अवलम्बन गरिरहेका छन् । आफ्नो देशको वस्तुस्थिति अनुसार युद्धका रणनीति र कार्यनीति तय गर्नु स्वाभाविकै हो ।  हाम्रोजस्तो देशमा परिस्थिति, भूगोल र चुनौती विश्वका अरू देशभन्दा फरक छ ।

यो महामारीका विरुद्ध लड्ने हतियार र जनशक्ति हामीसँग सीमित छ । हामीले अवलम्बन गरेको लकडाउनको तरिका उपयुक्त हुँदाहुँदै पनि यसको नकारात्मक पाटो नजरअन्दाज गर्न सकिने स्थितिमा छैन । विशेषगरी निम्न आयस्रोत भएका किसान र मजदुरहरूका लागि यो निकै कष्टकर भएको छ ।

महामारीले उत्पन्न गरेको यो विषम परिस्थितिमा संकटको सामना गर्ने पूर्ण तयारीमा लाग्नु नै आजको प्रमुख आवश्यकता हो । महामारीले पैदा गरेको यो चुनौतीसँग लडिरहँदा हामीले भविष्यमा देखापर्ने नयाँ–नयाँ समस्या र चुनौतीको बारेमा समेत गम्भीर हुनु जरुरी छ ।

विशेषगरी यो महामारीसँगै विश्वमै आर्थिक मन्दी व्यापक हुनेछ, जसका कारण गरीबी बेरोजगारी लगायतका ठूला समस्याहरू देखा पर्नेछन् । यसले गर्दा देशको अर्थतन्त्रमा प्रत्यक्ष योगदान गरिरहेको रेमिट्यान्समा ठूलो धक्का लाग्न सक्छ ।

देशभित्रै पनि बेरोजगारीको चाप उच्च ढंगले वृद्धि हुनसक्छ, यस्तो अवस्थामा व्यापक रोजगारी सिर्जना गर्ने खालका उद्योग व्यवसायको विकास गर्ने अवसर आएको छ ।

वर्तमान र भविष्यका त्यस्ता थुप्रै चुनौतीका बीच हामीले रणनीतिक महत्त्वका धेरै कामहरू गर्न सकिने सम्भावना पनि छन् । यसको पहिलो कार्य त स्वास्थ्य सेवाबाट शुरूआत गर्न सकिन्छ ।

हामी यो आर्थिक वर्षको बजेट कार्यान्वयनको अन्तिम चरणमा पनि भएको हुनाले रकमान्तरका सबै बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गरेर युद्धस्तरमा काम गर्न सकियो भने देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न सकिन्छ ।

माहामारीको यो विकराल अवस्थामा निजीक्षेत्रका अस्पतालहरूले गरेको व्यवहारलाई समेत मध्यनजर गर्दै सबै निजी अस्पतालहरू राष्ट्रियकरण गर्ने, सरकारी स्वास्थ्यचौकी र अस्पतालको स्तरोन्नति गर्ने काम गर्न सकियो भने स्वास्थ्य क्षेत्रलाई सबल बनाउन सकिन्छ ।

विपतको बेलामा केही जोखिमहरू उठाएरै भएपनि हामीले हाम्रो राष्ट्रका लागि काम गर्न सकिन्छ । हामीले हाम्रो सीमालाई व्यवस्थित गरेको भए आज यो विकराल स्थितिको सामना गर्नुपर्ने जोखिम कम हुन्थ्यो । हाम्रो जस्तो देशले सीमा व्यवस्थित नगरिकन विकास र प्रगति गर्न सकिँदैन ।

खुला सीमाका कारण भइरहेका राष्ट्रिय हित विपरीतका कामहरू रोक्नका लागि पनि यो एउटा उपयुक्त अवसर हो । यतिबेला विशेषगरी दक्षिणतिरको खुला सीमालाई व्यवस्थित गर्ने काममा राज्यको ध्यान केन्द्रित हुन जरुरी छ । यो कार्य गर्न सकियो भने सहज परिस्थितिमा वा विषम परिस्थितिमा हुने सबै खालका गलत क्रियाकलाप नियन्त्रण गर्न सकिन्छ ।

आजको विकसित परिस्थितिमा सुधार गर्न सकिने अर्को क्षेत्र हो, शिक्षा । जस्तोसुकै विषम परिस्थितिमा पनि निरन्तर अगाडि बढाउनुपर्ने क्षेत्र भनेको शिक्षा क्षेत्र नै हो । अब यो महामारी कहिले नियन्त्रण हुने हो भनेर कुरेर बस्ने या त अनलाइन कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरूको शैक्षिक गतिविधि अगाडि बढाउने भन्ने प्रश्न हाम्रो अगाडि खडा छ ।

यो अवस्थामा विश्वका विकसित राष्ट्रहरूले अवलम्बन गरेको प्रविधिमैत्री शैक्षिक प्रणालीलाई हामीले नेपालमा विकास गर्न जरुरी छ । नेपालमा रहेका सबै विश्वविद्यालय र विद्यालयहरू तत्कालै यो दिशामा अगाडि बढाउने अवसर यो महामारीको चुनौतीले सिर्जना गरेको छ । 

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषिक्षेत्रलाई यतिबेला विशेष महत्त्वका साथ अघि बढाउन जरुरी छ । यो महामारीको विकराल समस्याका बीच खाद्यान्न लगायतका कृषिजन्य वस्तुहरूको आयात प्रत्यक्षरूपमा प्रभावित हुन्छ । यस्तो अवस्थामा कृषि क्षेत्रलाई विशेष महत्त्वका साथ अगाडि बढाउने र उत्पादनमा आत्मनिर्भर हुने एउटा राम्रो अवसर पनि हो ।

यस्तो बेला कृषिक्षेत्रको विकासका लागि विशेष प्याकेजको घोषणा गर्दै आमकृषकहरूलाई आफ्नो उत्पादनमा वृद्धि गर्न प्रोत्साहित गर्ने राम्रो सम्भावना देखिन्छ । यसले देशभित्रको बेरोजगारीलाई कम गर्न एक हदसम्म मद्दत गर्न सक्छ ।

हरेक नयाँ सम्भावना हासिल गर्नका लागि बलियो राष्ट्रिय एकता आवश्यक हुन्छ । अहिले कोभिड- १९ कारण उत्पन्न परिस्थितिले राष्ट्रिय एकताको बलियो आधारभूमि तयार गरिदिएको छ । यस्तोबेला सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा राखेर यस्ता महत्त्वाकांक्षी योजनाहरूमा राजनैतिक नेतृत्वले ध्यान केन्द्रित गर्‍यो भने राष्ट्रले अभूतपूर्व विकास र प्रगति हासिल गर्न सक्दछ ।

सत्ता र शक्तिको संकीर्ण स्वार्थभन्दा माथि उठेर राष्ट्रका अगाडि देखापरेका चुनौतीहरूको सामना गर्दै सम्भावनाको दिशामा अगाडि बढ्नु नै अहिलेको राजनीतिक नेतृत्वको मुख्य दायित्व हुनुपर्दछ । महामारीको यो संकटले हाम्रा अगाडि केवल भयावह आतंक र चुनौती मात्रै होइन व्यापक सम्भावनाको समेत ढोका खोलिदिएको छ ।

झकबहादुर मल्ल 'सुदीप'
झकबहादुर मल्ल 'सुदीप'

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्