कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदूरी गर्ने र छाक टार्न समस्या भए आफूलाई खबर गर्न गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले आग्रह गरेका छन्।
नेता पहारीले पौरखी स्वयंसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यक्रममा चामल र तेल सहयोग गर्दै गाँसबासको समस्या भए आफूलाई खबर गरी सेवा लिन आग्रह गरेका हुन्।
पहारीले लकडाउन सरकारको रहर नभई जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले पालना गर्नुपर्नेमा जोड दिए। पौरखी समूहका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधिबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगका लागि वचन दिएको बताए।
उनले यही वैशाख ६ गतेदेखि दैनिक २० देखि २२ स्वयंसेवकले सेवामा जुटेर भोजन वितरण गर्दै आएको जानकारी दिए। तिमिल्सिनाका अनुसार सोमबार मात्रै समूहले पोखरा महानगरका करीब एक हजार एक सयलाई घरघरमै खाना पु-याएको छ।
पोखरा ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले सो अभियान सञ्चालित छ। यसका सञ्चालक प्रजापति अधिकारीसमेत अभियानमा छन्। पौरखीले सहयोगी मनबाट स्वतःफुर्त जिन्सी सहयोग जुटेको तर कसैसँग पनि नगद सहयोग नलिएको बताए। उनले सोमबार नै शैलेन्द्र रावतबाट तीन बाकस तेल सहयोग भएको जानकारी पनि दिए।