२२ असार २०८३, सोमबार

लकडाउनले फुर्सदिला चिकित्सक ! फोनबाटै दिन्छन् सुझाव–सल्लाह

बैशाख १३, २०७७
लकडाउनले फुर्सदिला चिकित्सक ! फोनबाटै दिन्छन् सुझाव–सल्लाह

अन्य समयमा बिहानदेखि राति अबेरसम्म व्यस्त रहने चिकित्सक अहिले फुर्सदिला जस्तै देखिन्छ । 

सरकारी, निजी तथा विभिन्न फार्मेसीका बहिरङ्ग (ओपीडी) सेवा बन्द हुँदा कोरोना अस्पतालमा कार्यरतबाहेक अन्य डाक्टरको दौडधुप छैन ।

लकडाउन हुनुपूर्व खाना खान र सुत्न मात्र घरमा पुग्ने चिकित्सकले अहिले परिवारसँग समय बिताउने, सामाजिक सञ्जालमा सक्रिय हुनेदेखि पढाइलाई समेत ‘अपडेड’ गर्न थालेका छन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले गर्दा बिरामी आकस्मिक (इमर्जेन्सी) बाहेक अन्य उपचारका लागि अस्पताल जाँदैनन् । 

अस्पतालमा भर्ना भएका बिरामीलाई आलोपालो ‘राउन्ड’ हेरेर जाँच गरी चिकित्सक घरमै फर्किन्छन् । उनीहरूले बिरामीलाई फोनबाट सुझाव दिन्छन् । ज्वरो, रुघाखोका बिरामीलाई हेर्दै हेर्दैनन् ।

धेरै व्यस्त रहने लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले पनि परिवारलाई समय दिन पाएका छन् । उनी भन्छन्, ‘अस्पतालका ओपीडी र अर्थोपेडिक सेवा राज्यले नै बन्द गर्न भनेको हुँदा चिकित्सकले बिरामी धेरै हेर्नु परेको छैन तर आकस्मिक कक्षमा बिरामी धेरै छन् ।’

बिहान ७ बजेदेखि राति ९ बजेसम्म प्रादेशिक र बुटवल हस्पिटल प्रालिमा बिरामी हेर्दै आएका उनी अहिले भर्ना भएका इमर्जेन्सीका बिरामीलाई जाँच गरेर घरमा फर्किएर दिन बिताउँछन् । अस्पतालमा पनि भीडभाड नगर्न सरकारले भन्दै आएको छ । डा. पाठकले भने, ‘मलाई यस्तो समस्या देखियो, के गरौ ? भनेर दैनिक ६०–७० वटासम्म बिरामीका फोन आउँछन् । उहाँहरूको कस्तो अवस्था हो, कुन–कुन औषधि खाइरहनुभएको छ ? सोधपुछ गरेर सल्लाह दिन्छु ।’

बुटवल क्षेत्रकै पुरानो प्रादेशिक अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेकोमा अहिले इमर्जेन्सीमा जम्मा १०० जनासम्म आउने गरेका छन् । अन्य दीर्घरोगीले पनि चिकित्सकलाई टेलिफोन सम्पर्क गरेर सुझावका आधारमा औषधिलाई निरन्तरता दिएका छन् ।

सिद्धार्थ महिला तथा बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा. विनोद पराजुली बालबच्चालाई ‘प्रोटोकल’ हेरेर औषधि खुवाउन सुझाव दिन्छन् । बिहान आफ्नै पराजुली फार्मेसीमा बिरामी बच्चाहरू हेर्ने, दिउँसो आम्दा र साँझ फेरि आफ्नै फार्मेसीमा बिरामी हेर्थे डा. पराजुलीले तर अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आम्दा अस्पतालमा बिरामी हेरेर उनी घरमै फर्किन्छन् । परिवारसँग समय बिताउँछन् ।

डा. पराजुली भन्छन्, ‘लकडाउनले गर्दा हस्पिटलमा बिरामीको चाप छैन । मानिसहरूले सजकता अपनाएका छन् । घरमै आफैं परिकार बनाएर खाएका छन् । अन्य समयमा जस्तो धुलोधुवा र बाहिरको खाना नखाँदा मानिसहरूलाई सरुवा रोग पनि कम लागेको छ ।’ ताजा खानेकुरा खाने, पानी उमालेर पिउने, बासी खानेकुरा नखाने, सरसफाइमा विशेष ध्यान दिन सकेमा धेरै रोगबाट जोगिन सकिने डा. पराजुलीको सुझाव छ । 

लकडाउन भएको शनिवार ३३ औं दिन हो । घरमा बसिराख्दा तनाव भएपनि बाहिर निस्कने अवस्था नरहेको चिकित्सकको भनाइ छ । सानो हेलचक्र्याइँले पनि कोरोना भाइरस सर्नसक्ने हुनाले सचेत रहेर घरमै बस्नुपर्ने चिकित्सक सुझाउँछन् ।

कोरोना भाइरसको त्राससँगै मानिसहरूले आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न थालेका छन् । बिरामी भइहालेपनि सरकारी अस्पतालबाहेक अन्यमा सहज उपचार गर्न चिकित्सक नै आनाकानी गर्छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्र रानाले पनि अहिले फोनबाटै धेरै बिरामीको अवस्था बुझ्छन् । अस्पतालमा दैनिक ६० देखि ७० जना बालबालिका उपचार गर्न आउने गरेकोमा हाल करीब १० जना मात्र आउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा आउन सम्भव हुनेलाई बोलाउँछु । सम्भव नहुनेलाई फोनबाटै सुझाव दिन्छु । यो औषधि खुवाउनुहोस् भनेर ‘म्यासेज’ गरिदिन्छु ।’

प्रादेशिक अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा बिरामी बच्चाको चाप छ तर आम्दामा बिरामी बच्चाको चाप ह्वात्तै घटेको छ । प्रादेशिक अस्पतालमा जन्मिएका तर एनआईसीयूमा राख्नुपर्ने अवस्थाका १ महिनासम्ममा बालबच्चा त्यहीँ भर्ना गरिन्छ । 

अस्पतालको ओपीडी सेवा बन्द हुँदा बिरामीलाई समस्या थपिएको छ । दीर्घरोगी र नियमित चिकित्सकसँग सल्लाह र चेकजाँच गरेर औषधि खानुपर्ने बिरामी सबैभन्दा बढी मारमा परेका छन् । 

आम्दा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल रुघाखोकी, झाडापखाला, ज्वरो जस्ता सरुवा रोग घरबाहिर ननिस्कँदा बिरामी कम भएको बताउँछन् । उनी भन्छन्, ‘लकडाउनले बिरामी कम पनि भएका छन्  । घरबाहिर निस्कन रोकिएपछि सरुवा रोगको जोखिम पनि कम हुन्छ ।’

पोखरेलले थपे, ‘ज्वरोका बिरामी पनि ५० प्रतिशतले घटेका छन् । चिकित्सकहरू पनि अस्पतालमा आलोपालो गरेर बिरामी हेरेका छौं । फुर्सदिलो हुँदा परिवारसँग समय, सामाजिक सञ्जाल हेरेर पनि समय बिताउन थालेका छौं ।’ 
सरकारले कोरोना संक्रमण वा आशंका लागेका बिरामीको लागि धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण गरेको छ । विदेशबाट फर्किएका वा उनीहरूको सम्पर्कमा आएकाहरूमा कोरोनाको लक्षण (रुखाखोकी, ज्वरो, र सास फेर्न गाह्रो) भएका बिरामीलाई छुट्टै उपचारको व्यवस्था छ । त्यहाँको उपचारमा डा. सुदर्शन थापा खटिएका छन् ।

बुटवलमा दैनिक ३ हजारभन्दा बढी बिरामी उपचार गर्न आउँछन् तर अहिले सबै अस्पताल सुनसान छन् । अन्य समयमा बिरामी तानातान गर्ने निजी अस्पताल सामान्य बिरामीलाई पनि उपचार गर्नबाट पन्छिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्