
पाकिस्तानमा तब्लीगी जमातसँग जोडिएका मौलाना तारिक जमीलले कोरोनाभाइरस महाव्याधिका सम्बन्धमा अनौठो टिप्पणी गरेका छन् ।
अल्लाहको श्रापका कारण कोरोना फैलिएको उनको भनाइ छ । उनले भने, ‘संसारमा नग्नता र अश्लीलता फैलिएकाले अल्लाह रिसाएर कोरोना पठाउनुभएको हो ।’
उनको बयानको बेस्सरी आलोचना भइरहेको छ ।
प्रधानमन्त्री इमरान खानले कोरोना पीडितहरूका लागि दौड प्रतियोगिता आयोजन गरेको अवसरमा टेलिभिजनमा बोल्ने क्रममा मौलानाले यस्तो बयान दिएका हुन् । समाजमा महिलाका कारण हुने अश्लीलता कायम रहुन्जेलसम्म अल्लाह रिसाउने उनले बताए ।
उनले संसारभरिका मिडियाहरू झूटो भएको बताउँदै साँचो खबर प्रेषित गर्न चेतावनी समेत दिए ।
पाकिस्तानकी प्रसिद्ध सामाजिक कार्यकर्ता शीरीन मजारीले मौलानाको बयानमा महाव्याधिका सम्बन्धमा अज्ञानता र महिलाविरोधी मानसिकता झल्किने बताइन् । यो बकवास र निन्दनीय बयान भएको उनको भनाइ छ ।
निदा ऐलीले सरकारमाथि नै प्रश्न उठाउँदै तारिक जमीलको बयान टेलिभिजनबाट प्रसारण नै किन गर्न दिएको भनिन् । मौलानाले महिलाको स्वतन्त्रतामा आपत्ति जनाउँदै त्यसलाई ईश्वरको प्रकोप भनेको उनले बताइन् ।
पाकिस्तानको मानवअधिकार आयोगले मौलानाको बयान अस्वीकार्य रहेको बयान दिएको छ ।
पछि मौलानाले पत्रकारहरूसँग माफी माग्दै कार्यक्रम बोल्ने क्रममा उत्तेजित हुँदा बोली चिप्लिएको बताए ।