०३ असार २०८३, बुधबार

बुटवलमा १० हजार परिवारलाई राहत

बैशाख १५, २०७७
बुटवलमा १० हजार परिवारलाई राहत

प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम निन्तर भइरहेका छन । भने, संगसंगै दोस्रो चरणको राहत वितरणका काम पनि सुरु भएका छन् । 

पहिलो चरणमा झण्डै सात हजार घर परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा भने संख्या बढेर झण्डै १० हजार पुग्ने भएको छ । १९ वटै वडा, त्यहाँका टोलविकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरुसमेतको संयुक्त समन्वयमा संकलन भएका घर परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु भएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउने र विपन्न परिवारलाई लगत संकलन गरेर लक्षित समूदायमै पुग्नेगरि राहत वितरणको काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ । 

बुटवलमा राहत वितरण, सचेतना र सावधानीका काम संगसंगै भइरहेका छन् । ‘फिवर क्लिनिकमार्फत अवस्था पहिचान र दर बढ्न नदिन देशैभरी परीक्षणको दायरा बढाउँदै लगिएको छ र समुदायस्तरमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको प्रमुख सुवेदीले बताए ।  

बुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारिन्टनमा रहेका र स्वाथ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरु सबैको परीक्षण गरिएको छ । बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाईं हटलाइन सेवामा खटाएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । 

वरिष्ठ अधिकृत विजयदेव भुर्तेलको नेतृत्वमा सबै टोलमा राहतको व्यवस्थापन र लक्षित समुदायको अवस्थाका बारेमा अनुगमन र स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहको नेतृत्वमा सबै वडाको समन्वय हुनेगरि फिवर क्लिनिकमा चेकजाँचको काम भइरहेको शर्माको भनाइ छ ।

झण्डै २२ सय जना पैदल यात्रीलाई यातायातको व्यवस्था

अहिलेको लकडाउनेका अवधिमा बुटवलले विभिन्न ठाउँबाट पैदल यात्रा हुँदै बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका करिब २२ सय पैदल यात्रुलाई उद्दार गरेको छ ।

उनीहरुलाई बुटवल वडा नं. १२ मा वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदी र वडा नं. १ मा महेन्द्रप्रसाद लिगलको नेतृत्वमा पैदल यात्रीलाई खाने, बस्ने र बसमार्फत सुरक्षा प्रवन्धसहित आ–आफ्ना ठाउँमा पठाइएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । त्यसरी पठाएकाहरुलाई उनीहरुको पालिकासंग समेत समन्वय गरेर त्यहीँ क्वारेन्टाइनमा राख्न अनुरोध गरिएको प्रवक्ता रेग्मीले बताए । 

बुटवलले वडा नं. १२ तामनगरमा रहेको कोरियन टेक्निकल कलेजको खाली भवनमा क्वारेन्टाइन निर्माण गरेको छ । त्यहाँ राखिएकालाई नियमित स्वास्थ्य परीक्षण भएको छ । सोही ठाउँमा क्यान्टिन सञ्चालन गरेर अर्गानिक खाना खुवाइएको छ ।

कार्यविधि बनाएर राहत वितरण

बुटवलमा दैनिक ज्यालादारी गर्ने विपन्न अवस्थाका श्रमिकका परिवारको लगत संकलन गरि व्यवस्थित रुपमा राहत वितरण गरेको छ । यसका लागि बुटवलले कार्यविधि समेत बनाएको छ । राहत वितरणको कामलाई प्रभावकारी, व्यवस्थित र लक्षित समुदायमा सहजै पुर्‍याउनका लागि बुटवलले नै मुुलुकमै पहिलोपटक कार्यविधि बनाएको प्रवक्ता रेग्मीको दाबी छ ।

सोही कार्यविधि अनुसार सामाजिक निजी क्षेत्र र संघसंस्थाको सहकार्यमा राहत संकलन तथा वितरणका काम भइरहेको छ । कार्यविधि अनुसार प्रति परिवार २० किलो चामल, दुई किलो दाल, दुई लिटर तेल, एक किलो नुन, हात धुने साबुन वितरण सुरु गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्