लिपुलेखलाई मानसरोवर रूटसँग जोडेर भारतले ठूलो समारिक विजय हासिल गरेको भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ । कालापानीको सामरिक महत्त्वका विषयमा उक्त पत्रिकाले विस्तारमा लेखेको छ ।
आइतवार प्रकाशित एक समाचारमा उक्त बाटोले गर्दा कैलाश मानसरोवर जाने बाटो सुगम बनेको अनि चीनसँगको सामरिक सन्तुलन पनि कायम भएको लेखिएको छ ।
पत्रिका थप लेख्छ :
नेपाल सरकारले कालापानी क्षेत्रमा भारतले बनाएको बाटोको विरोध गर्दै लिपुलेखमा फेरि दाबी गरेको छ । तर भारतको विदेश मन्त्रालयले यस दाबीलाई खारेज गर्दै सबै काम भारतीय सीमामा भएको बताएको छ ।
यो सडक सञ्चालनमा आएपछि भारतीइ स्थलसेनालाई रसदपानी र युद्ध सामग्री चीनको सीमामा पुर्याउन सहज हुनेछ । यो लिंक रोड बन्दा लिपुलेख र कालापानीमा भारत सामरिक रूपमा बलियो बन्न सक्छ ।
दुई वर्षअघि चिनियाँ सेना पिथौरागढको बाराहोतीमा घुसपैठको कोशिश गरेको छ । यो लिंक रोड बनाएपछि चिनियाँ सेनाले यस्तो हर्कत गर्न सक्दैन ।
भारतीय सेनाले चीनको दाउमा निगरानी राख्न जरूरी छ । त्यस हिसाबमा कालापानी सामरिक रूपमा महत्त्वपूर्ण छ । सन् १९६२ को युद्धपछि त्यहाँ इन्डो टिबेटन बोर्डर पुलिसले पेट्रोलिङ गर्ने गर्थ्यो । चीनले आफ्नो सीमासम्म सडक बनाइसकेको छ ।
हिमालय पार गरी सीमासम्म आधारभूत संरचना विकसित गर्न चीनले निकै धेरै रकम खर्च गरिसकेको छ । त्यसैले भारतले पनि सीमामा सैन्य सन्तुलन कायम गर्न जरूरी उपाय अपनाउनुपर्ने नै थियो ।
भारतसँग मित्रता भए पनि केही समययता नेपाल र चीन बढी नजिकिएका छन् । त्यस्तो स्थितिमा कालापानीमा भारतको बलियो उपस्थिति जरूरी छ ।