नेपाली कांग्रेसकी कोषाध्यक्ष एवं सांसद सीतादेवी यादवले बजेटमा रेल र पानीजहाजको कुरा छाडेर कृषि क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०७७/०७८ को प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै सांसद यादवले कृषकलाई सस्तोमा कृषि ऋणको व्यवस्था गर्न माग गरेकी हुन् ।
‘यो बेला पूर्ण बजेट नभई कृषिलाई प्राथमिकता दिएर पूरक बजेट ल्याउनु पर्छ,’ उनले भनिन्, ‘अहिले रेल र पानीजहाजको कुरा भन्दा कृषिमा लगानी गरौं अन्यथा अनिकाल र भोकमरी हुनेछ, यसबाट महिला र बालिबालिका प्रभावित हुनेछन्, कृषकलाई सस्तोमा ऋण व्यवस्था गर्नुपर्दछ ।’
सांसद यादवले कोरोनाका कारण विदेशमा अलपत्र नेपालीलाई अविलम्ब स्वदेश फिर्ता गर्ने व्यवस्था गर्न र स्वदेश फर्केकालाई उपचार र स्वरोजगारको ग्यारेन्टी गर्न माग गरिन् ।
उनले लकडाउनलाई व्यवस्थित गर्न र घुम्ती टोलीमार्फत स्वास्थ्य परीक्षण गर्न सरकारको ध्यानाकर्षण समेत गराइन् ।