
नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनापछि पहिलो मृत्यु
नेपालमा पहिलोपटक कोभिड १९ (कोरोना) संक्रमण देखिएको ४ महिनापछि एकजना महिला संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझ विज्ञप्ति निकालेर सिन्धुपाल्चोकनिवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।
शनिवार अपराह्न नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धुलिखेलस्थित अस्पताल मृत्यु भएकी ती सुत्केरी महिलाको मृत्युको कारण अनुसन्धान गरिरहेको बताएका थिए ।
ती महिला गत वैशाख २३ गते शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी थिइन् । उनले २४ गते शिशुलाई जन्म दिइन् । डाक्टर देवकोटाले उनी २५ गते नै अस्पतालबाट डिस्चार्ज भएर घर गएको र त्यसपछि स्वासप्रस्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गर्न गएको बताए ।
स्थानीय अस्पतालले धुलिखेल अस्पताल रिफर गरेपछि उनलाई काभ्रेको धुलिखेल ल्याइएको थियो । धुलिखेलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो ।
उनले आफूलाई कोरोना लागेको थाहै नपाइ परलोक भइन् । शनिवार बिहानैदेखि विभिन्न सञ्चारमाध्यमहरूले उनको कोरोनाका कारण मृत्यु भएको भनी अपुष्ट समाचारहरू लेखिरहेका थिए । यद्यपि शनिवार साँझ ८ बजेर ५० मिनेट जाँदा स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले एक विज्ञप्तिमार्फत उनको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे ।
सरकार नेपाली भूमिको रक्षाका लागि संवेदनशील नरहेको कांग्रेसको ठहर
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नेपाली भूमिको रक्षाका लागि संवेदनशील नरहेको ठहर गरेको छ।
कांग्रेस सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमिको अतिक्रमणको विरोध गरेको हो।
र, कांग्रेसले आफ्नो भूमिको रक्षाको लागि सरकार संवेदनशील नरहेको र ठोस कदम चाल्न नसकेको प्रति दुःख व्यक्त गरेको जारी विज्ञप्तिमा भनिएको छ। अविलम्ब ठोस कुटनीतिक प्रयास गरी नेपालको भूमिको रक्षा गर्न सरकार गम्भीर बन्न कांग्रेसले माग गरेको छ।
पहिलो पटक नेपाली सेनामा कोरोना संक्रमण, सेनाका २ जनामा संक्रमण पुष्टि
पहिलो पटक नेपाली सेनामा कोरोना संक्रमण पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले लोकान्तरसँग कुरा गर्दै महोत्तरीको बर्दिबास स्थित सैनिक क्याम्पमा रहेका दुई जना नेपाली सेनालाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
महोत्तरी र काभ्रे भएका ती दुई जना सेनाको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले संकलन गरेको थियो ।
संक्रमित दुबै जना नेपाली सेनालाई सैनिक अस्पतालमा नै उपचार हुने वा प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुने भन्ने बारे अहिले तय नभएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिवार मीडिया ब्रीफिंगमा समेत आज दुई जना महोत्तरी र काभ्रे घर भएका मानिसमा कोरोना संक्रमण भएको बताएका थिए ।