
गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि तिलोत्तमास्थित क्रिमसन अस्पतालले उनको मृत्यु नभएको स्पष्ट पारेको छ ।
बुधवार मध्याह्न प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले संक्रमितको मृत्यु नभएको र उपचार भइरहेको स्पष्ट पारेको छ ।
‘निज बिरामी यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
'केही सामाजिक सञ्जाल र मिडियाहरूमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकाले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्नुहुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
