
चीनको वुहान शहरले वन्यजन्तु खान प्रतिबन्ध लगाएको छ । वन्यजन्तु खाने बानीका कारण कोरोनाभाइरस महाव्याधि उब्जेको विश्वास गरिन्छ ।
यो प्रतिबन्ध अघिल्लो साताको बुधवारदेखि लागू गरिएको हो र पाँच वर्षसम्म कायम रहनेछ, वुहान सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
चिनियाँ विशेषज्ञहरूका अनुसार, जनवरी महिनामा भाइरस वुहानको वन्यजन्तु बजारमा रहेका पशुबाट मानवमा सरेको हुनसक्ने बताएका छन् ।
हुआनान सीफूड होलसेल मार्केटबाटै संसारभरि भाइरस फैलिएको मानिन्छ । स्वास्थ्य संकट परेपछि जनवरी १ मा त्यसलाई बन्द गरिएको थियो ।
उक्त बजारमा स्याल, गोही, ब्वाँसोका बच्चा, जायन्ट सालामान्डार, सर्प, मुसा, मयूर, दुम्सी, कोआला भालु लगायतका वन्यजन्तुहरू बेच्ने गरिन्थ्यो ।
चीनमा भाइरसले ४६ सय ३४ जनाको ज्यान लिएको आधिकारिक आँकडा छ ।
वुहान रहेको हुबेई प्रान्तले गत मार्च महिनामा एउटा कानून पारित गरेर वन्यजन्तुको भक्षणलाई पूर्ण प्रतिबन्ध लगाएको थियो । मानिसले पालेको वन्यजन्तु पनि खान प्रतिबन्ध लगाइएको छ ।
फेब्रुअरी महिनामा चीनको केन्द्रीय सरकारले वन्यजन्तुको व्यापार र उपभोगलाई पूर्ण रोक लगाएको थियो ।